Blog

  • ललितपुर ठेचोमा मण्डला प्रतियोगिता हुँदै

    ललितपुर, सोमबार, १२ कात्तिक २०८१ । युवा पुस्तामा मण्डलाको महत्वबारे जानकारी गराउने उद्देश्यले आगामी कात्तिक १७ गते शनिबार मण्डला प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल संवत अर्थात न्हूँ दँ ११४५ को दिन गोदावरीको ठेचोमा मण्डला प्रतियोगिता आयोजना हुन लागेको हो । झीःझी पुचद्धारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको हो ।

    प्रतियोगिताले युवा पुस्तामा मण्डलाको संरचना र यसमा प्रयोग गरिने रंगले सकारात्मक उर्जा र जीवनमा पार्ने प्रभावबारे राम्रो ज्ञान दिने अपेक्षा लिइएको आयोजक संस्था झीःझी पुचका अध्यक्ष अनिल महर्जनले बताए ।

    आध्यात्मिक प्रतीकहकको ज्यामितिय तथा पञ्चमहाभूत सहित सिङ्गो ब्रहमाण्डको शुक्ष्म प्रतिनिधित्व गर्ने मण्ड (मण्डला) नेवारी संस्कृतिमा सम्मानजनक अस्तित्व र गौरवमय मानिन्छ ।

    कला, रङ, धर्म र संस्कृतिको सम्बन्ध दर्शाउनुका साथ साथै न्हूँ दँ ११४५ लाई अर्थपूर्ण र भन्यरूपमा मनाउन यस प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ । नेवार समुदायको संस्कृति जोगाउन र गोदावरी नगरपालिकालाई पर्यंटकीय नगर बनाउन यस्तो कलात्मक प्रतियोगिताले सहयोग पु-याउने यस कार्यक्रमका संयोजक धर्मेन्द्र महजनले लुकेर बसेको कलाकारहरुलाई सम्मान र कदर पनि गरिने जनकारी दिनुभयो ।

    व्यक्तिगत तथा संस्थागत रुपमा जो कोहीले पनि भाग लिन सक्ने यस प्रतियोगितामा कुनै उमेरको सीमा तोकिएको छैन । दुई जना मिलेर छ घण्टा भित्र एउटा चार वर्गफिटको मण्डला बनाउनुपर्नेछ । महिला पुरुष जो कोहीले पनि भाग लिन मिल्ने प्रतियोगितामा पहिले रजिस्टर गर्नेले पहिलो प्राथमिकता पाउने र जम्मा २० वटा समुह मात्र समावेश गरिने बताइएको छ ।

    इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले व्यवस्थापन गर्ने यस कार्यक्रममा आवश्यक पर्ने पाँच थरी रंगलगायत अन्य सामाग्री जस्तै चक, इन्ची टेप, धागो, प्लाष्टिक कोन, कचौराइत्यादि आयोजकका तर्फबाट उपलब्ध गराउने र सजावटको सामाग्री प्रतियोगीले नै व्यवस्था गर्नुपर्नेछ ।

    प्रतियोगिताको प्रवद्र्धकको रुपमा गोदावरी नगरपालिका वडा नम्बर १२ थेचो, सहकारी पे–पीइएस, ग्लिष्टेन इन्टरप्राइज र थेचो क्याटरिङ सहयोगीको रुपमा रहेका छन् ।

    प्रथम, द्वितीय र तृतीय हुनेलाई विशेष पुरस्कार वितरण गरिने र नेपाल संवत ११४५ न्हूँ दँ को उपलक्ष्यमा निस्कने मोटर साइकल -याली तथा भिन्तुना -यालीमा आउनेहरुलाई समावेश तथा लक्षित गरी आयोजन गर्ने भएकाले तीन हजार देखि पाँच हजार जनाले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

    हरेक वर्ष हुने यस प्रतियोगितामा आफूसँग भाएको कला प्रस्तुत गर्ने सुवर्ण मौकाको फाइदा उठाउन आफ्नो नाम दर्ता गरी भाग लिन आयोजकद्वारा आवहान गरिएको छ ।

  • कोन्ज्योसोमको राहत कोषमा टिकटक समूहमार्फत आठ लाख ५८ हजार रकम सहयोग

    ललितपुर, सोमबार, १२ कात्तिक २०८१ । कोन्ज्योसोम गाउँपालिकाकाले बाढी पहिरोबाट प्रभावितहरुको राहत उद्धार तथा पुर्नस्थापनाको लागि टिकटक समूहमार्फत आठ लाख ५८ हजार रकम सहयोग गरेको छ ।

    गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा आठ लाख ५८ हजार रकम नगद सहयोग प्राप्त भएको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कोज्योसोम गाउँपालिकामा गत असोज ११ र १२ गते परेको अबिरल वर्षाले बाढीपहिरो आइ ठूलो धनजनको क्षति भएको जानकारी दिँदै पीडितको राहत र उद्धारका लागि टिकटक समूहले उक्त रकम कोषमा प्रदान गरेको बताउनु भयो ।

    सहयोग गर्नुहुने सम्पूर्णलाई कोन्ज्योसोम गाउँपालिकाले सहयोग गर्दै आएको छ । अहिले बाढीपीडितका लागि गाउँपालिकाले क्रमिक रुपमा पुनस्थापना गर्ने कार्य अगाडि बढाइरहेको छ ।

  • भारतलाई ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश

    काठमाडौँ, सोमबार, १२ कात्तिक २०८१ । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

    दशरथ रङ्गशालामा आइतबार राति भएको तनावपूर्ण सेमिफाइनल खेलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको हो ।

    टाइब्रेकरमा नेपालका लागि सावित्रा भण्डारी (साम्बा), गिता राना, सविता रानामगर र अमिशा कार्कीले गोल गर्नुभयो । भारतकी मनिषा र पुरुषोत्तम शिरोभ्करले गोल गर्नुभयो । कप्तान आशालता देवीको पहिलो प्रहार पोलमा लागेर फर्किएको थियो । रन्जना चानुको प्रहारलाई भने नेपालकी गोलरक्षक अन्जना रानामगरले विफल पार्नुभयो ।

    यसअघि निर्धारित समयको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । ५१ औँ मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो ।

    नेपालकी प्रभावशाली स्ट्राइकर रेखा पौडेलले रन्जना चानुमाथि फल गरेपछि भुटानी रेफ्री चोकी ओमले रेखालाई दोहोरो पहेँलो (रातो) कार्ड देखाउनुभयो । त्यसपछि रेफ्रीको निर्णय प्रति असन्तुष्ट बनेका नेपाली समर्थकले नाराबाजी गर्दै मैदानमा बोतल फालेका थिए । जसको कारण खेल १३ मिनेट रोकिएर पुनः सुचारु भयो ।

    लगत्यै भारतकी संगीता बासफोरले डिबक्स छेउबाट उत्कृष्ट गोल गर्नुभयो । भारतका खेलाडी र अफिसियल संगीताको गोलमा खुसी मनाउन लाख्दा रेफ्रीले खेल सुचारु गर्नुभयो । जसमा नेपालकी प्रिति राईले गोल गर्नुभयो ।

    प्रितिले खाली पोस्टमा गरेको गोललाई विपक्षी खेलाडी हाफ मैदानमा नरहेको भन्दै रेफ्री चोकीले फोर्थ अफिसियल र सहायक रेफ्रीको निर्देशनमा गोल नदिएपछि रङ्गशाला पुनः तनावपूर्ण बनेको थियो । नेपाली खेलाडी गोल नदिएका कारण खेल्न मानेनन् । अफिसियलले पनि तत्काल खेलाउन सकेनन् ।

    रेफ्रीको गलत निर्णयपछि १५ हजार दर्शकले रेफ्रीविरुद्ध नाराबाजी गरिरहेका थिए । दर्शकको आक्रोस नियन्त्रण गर्न सुरक्षा कर्मीलाई समेत हम्मेहम्मे परेको थियो ।

    करिव एक घण्टा तनावपछि खेल पुन: सञ्चालन भएको थियो । खेल सञ्चालन भएको पहिलो मिनेटमै सावित्राले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि सोझै टाइब्रेकरमा पुगेको खेलमा नेपाल भाग्यमानी बन्यो । फाइनलमा नेपालले बुधबार साविक विजेता बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

    यसअघि आइतबार नै भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । अघिल्लो संस्करणको फाइनलमा बङ्गलादेशले नेपाललाई हराउँदै उपाधि जितेको थियो ।

  • रानीपोखरी र पृष्ठभूमिमा दरबार हाई स्कूलको दृश्य

    काठमाडौंको कमलादीस्थित स्काई भ्यु टावरबाट देखिएको रानीपोखरी र पृष्ठभूमिमा दरबार हाई स्कूलको रमणीय दृश्य…

    २०८१ साल कात्तिक ११ गते आइतबार

  • मुस्ताङको पुराङ गाउँमा देखिएको लुलु गाई

    लुलु गाई हिमाली भेगमा पाईने जुरो नभएको संसारकै सबैभन्दा सानो गाईको प्रजाती हो । हिमाली क्षेत्रमा पाइने लुलु गाईको संख्या बिस्तारै घट्दै गैइरहेको छ ।

    २०८१ साल कात्तिक ११ गते आइतबार

  • सबै स्थानीय तहलाई सूचना अधिकारी तोक्न आयोगको निर्देशन

    काठमाडौँ, आइतबार, ११ कात्तिक २०८१ । राष्ट्रिय सूचना आयोगले सबै स्थानीय तहलाई अनिवार्य रुपमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि १० बुँदा कार्यान्वयन गर्नका लागि आयोगको गत असोज १६ को बैठकको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको हो ।

    जसमा सूचना अधिकारी अनिवार्य रुपमा तोक्न र सूचना अधिकारी तोक्दा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ६ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम २४ को व्यवस्था बमोजिम मात्र गर्ने गराउने व्यवस्था गर्न निर्देशन दिइएको आयोगका सचिव कमल भट्टराईले जानकारी दिए ।

    उनका अनुसार सूचना मागको अवस्थालाई ध्यानमा राखेर आवश्यक भएमा सूचना शाखाको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।

    यस्तै सूचना अधिकारीलाई सार्वजनिक निकायमा भएका सूचनामा सहज पहुँच तथा सहयोग गर्ने गराउने व्यवस्था गर्नुपर्ने, साथै सूचना अधिकारीलाई स्रोत साधन सम्पन्न बनउन भनिएको छ ।

    सूचनाको हकको कार्यान्वयनका लागि प्रत्येक स्थानीय तहले सूचनाको हकसम्बबन्धी बजेट तथा कार्यक्रम अनिवार्य रुपमा प्रत्येक वर्ष राख्नुपर्ने, सूचना अधिकारीलाई सार्वजनिक निकायमा प्राप्त हुने वैदेशिक भ्रमण, तालिम, पुरस्कार जस्ता विषयमा प्राथमकिता दिन पनि निर्देशन दिइएको छ ।

    आयोगले सूचनाको हक कार्यान्वयनका लागि राम्रो अभिलेख व्यवस्थापन हुन आवश्यक रहेको भन्दै सूचना प्रविधिमा आधारित अभिलेख व्यवस्थापन प्रणाली अबलम्बन गर्न, स्थानीय तहको नीति, कार्यक्रम तथा बजेटमा सूचनाको हकको कार्यान्वयनलाई समावेश गर्न भनिएको छ ।

    यस्तै स्थानीय तह आवद्ध तथा अन्तरगत धेरै सार्वजनिक निकाय रहेको भन्दै सबै सार्वजनिक निकायमा सूचनाको हक कार्यान्वयन गर्न गाराउन निर्देशन दिनुका साथै तालिम, प्रशिक्षण, छलफलको व्यवस्था गर्ने व्यवस्था गर्न भनिएको छ ।

    यस्तै सूचनाको हक सम्बन्धी कानूनले तोकेका व्यवस्था सबै कार्यान्वयन गर्न र सूचनाको माग सम्बन्धी अभिलेख राखी प्रगति जिल्ला स्तरीय अनुगमन इकाई र आयोगमा पठाउन पनि निर्देशन दिएको छ ।

    आयोगले मधेश प्रदेश र लुम्बिनी प्रदेशका ४ वटा जिल्ला सिराह, रौतहट, कपिलवस्तु र नवलपरासी पश्छिम छनौट गरेर सूचनाको हक सम्बन्धी ऐन, २०६४, निमायवली २०६५ र सूचनाको हक कार्यान्वयन अनुगमन निर्देशिका, २०७६ को प्रावधान बमोजिम सूचनाको हक कार्यान्वयनको अवस्थाबारे आरटीआई अडिटपछिको प्रतिवेदन अनुसार यस्तो निर्देशन दिएको हो ।

    उक्त प्रतिवेदनको अध्ययन तथा विश्लेषण र प्राप्त सुझावको मूल्यांकन गर्दा सूचनाको हकको कार्यान्वयन अध्ययन गरिएका स्थानीय तहमा सूचनाको हकको कार्यान्वयनको अवस्था केहि सन्तोषजनक देखिए पनि धेरै विषमया थप काम गर्नुपर्ने देखिएको छ । स्थानीय तहमा पहिलो पटक गरिएको अध्ययनले सूचनाको हक कार्यान्वयनमा रहेका कमी कमजोरी तथा समस्याका विषयमा विस्तृत रुपमा अध्ययन गरिएको छ ।

  • मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्नेगरी सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री आचार्य

    भैरहवा, आइतबार, ११ कात्तिक २०८१ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तीकरणको लागि समानता र अधिकार सुनिश्चित गरेर सरकारले काम गरिरहेको बताएका छन् ।

    रुपन्देहीको भैरहवामा मुस्लिम समुदायको अधिकारको बारेमा आयोजना गरिएको प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले मुस्लिम समुदायको विकास तथा सशक्तीकरणका लागि समानता र अधिकार सुनिश्चित गरेर प्रदेश सरकार अघि बढेको बताएका हुन् । लुम्बिनी प्रदेश सरकारले मदरसा शिक्षालाई सुधारेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।

    ‘प्रदेश स्थापना भएपछि मदरसा शिक्षालाई जोड दियौं । मदरसाको भौतिक सुधार ग¥यौं । त्यहाँ शिक्षाको गुणस्तर सुधार्न पनि ध्यान दियौं । मुस्लिम विद्यार्थीलाई छात्रवृत्ति र छात्रावास निर्माण गर्न प्रदेश सरकारले लगानी गरेको छ’, उनले भने, ‘शिक्षा क्षेत्रमा अगाडि बढाउन प्रदेश सरकारले लागेपुगेसम्मको सहयोग गरेको छ ।’

    प्रदेश सरकारले मुस्लिम समुदायलाई निजामती क्षेत्रमा आकर्षित गर्न सात प्रतिशत आरक्षणको व्यवस्था गरेको मुख्यमन्त्री आचार्यले बताए ।

    उनले भने, ‘नीति, नियम तथा कार्यक्रमबाट मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्नेगरी सरकारले काम गरिरहेको छ ।’ प्रदेशका ६ जिल्लामा पोषण कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै उनले गर्भवती र सुत्केरी आमाहरुलाई यो कार्यक्रममा जोड्न आह्वान गरे ।

    मुख्यमन्त्री आचार्यले भने, ‘सरकारले लगानी गर्दै जाने, तर सेवा उपभोग गर्न समुदायका मानिसहरु नपुग्ने अवस्था भयो भने त्यसले नतिजा राम्रो दिँदैन । यसबारेमा हामी सबै संवेदनशील बन्न जरुरी छ ।’

    ‘धार्मिक सद्भाव कायम राखौं, सबै धर्मको सम्मान गरौं’ भन्ने मुख्य सन्देशसहित ओल्मा काउन्सिल नेपाल रुपन्देही शाखाको आयोजनामा ‘तहफ्फुजे हुकुके मुस्लिम व तालीमी वेदारी’ सम्मेलन २०८१ सुरु भएको ओल्मा काउन्सिल रुपन्देहीका अध्यक्ष मौलाना अब्दुलनबी भाटले बताए । सम्मेलन उद्घाटन अवसरमा पिछडिएको समुदायलाई राज्यको मूलधारमा ल्याउनेगरी प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत सम्वोधन गर्न माग राखिएको थियो ।

    मुस्लिम समुदायभित्र आर्थिक वा सामाजिक रूपमा पछाडि परेका व्यक्तिको विकास र सशक्तीकरणका लागि विशेष कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने, मुस्लिम समुदायको भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण र विकासको लागि कार्यक्रम बनाउनसमेत प्रदेश सरकारसँग अनुरोध गरिएको छ ।

    मुस्लिम समुदायको हक, हितको संरक्षण र सम्बर्द्धन तथा सशक्तीकरण गर्न, आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, राज्यले उपलब्ध गराउने स्रोत तथा साधनहरुमा मुस्लिम समुदायको पहुँच वृद्धि गर्न, ऐतिहासिक, सांस्कृतिक एवम् धार्मिक क्षेत्रको संरक्षण र सम्बर्द्धनलगायतका विषयहरु उठान गरिएको थियो ।

  • ग्लोबल आइएमई बैंकले पायो ‘वर्ल्ड बेष्ट बैंक’ अवार्ड

    काठमाडौँ, आइतबार, ११ कात्तिक २०८१ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ ।

    शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तान्तरण गरे ।

    विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।

    बैंकका अध्यक्ष ढकालले यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउँदै यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरु, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गमा खुसी साट्दै हार्दिक आभार व्यक्त गरे ।

    ग्लोबल फाइनान्स म्यागाजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रिय बैंक र वाणिज्य बैंकहरुलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ ।

    ग्लोबल फाइनान्सले २०२४ को लागि हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्गलादेश, फिलिपिन्सको मेट्रोबैंक लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको हो ।

    ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी समय सान्दर्भिक नविनतम् सेवाहरु प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट “नेपालको उत्कृष्ट बैंक” को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरु प्रदान गर्न प्रोत्साहित गर्नेछ ।

    यस अघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म यस अवार्डसहित बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

  • सिरानचाेक ४ चाेरकाटे बजारमा खानेपानी याेजनाकाे उद्घाटन

    गोरखा, आइतबार, ११ कात्तिक २०८१ । पचास लाख भन्दा माथिका याेजनालाई बहु बर्षे याेजनामा राखेर क्रमागत रुपमा पुरा गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनु भयाे ।

    सिरानचाेक गाउँपालिका वडा नं ४ काे चाेरकाटे बजार खाने पानी याेजनाकाे उद्घाटन गर्दै मुख्यमन्त्रीले यस्ताे बताउनु भएकाे हाे । गण्डकी प्रदेशले बिगत पाचँ बर्ष देखि निरन्तर रुपमा बजेट बिनियाेजन गर्दै आईरहेकाे छ । गण्डकी प्रदेशले हाल सम्म एक कराेड सात लाखमा लागतमा एक सय ४८ घरघुरिमा एक धारा जिर्माण गरिएकाे छ ।

    मुख्यमन्त्री पाण्डेले आफू मुख्यमन्त्री हुदा सम्म हरेक याेजनालाई प्रथमिकतामा राखेर काम गर्ने पनि बताउनु भयाे । वडामात्र हाेईन कि सिरानचाेक गाउँपालिका भरिनै १२ महिना नै चल्ने गरि यातायातकाे सन्जाल पुर्याउने पनि मुख्य मन्त्री पाण्डेले जानकारी दिनु भयाे ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भाेला दाहाल, सिरानचाेक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, वडा वडा नं ४ का वडा अध्यक्ष भरत हमाल, वडा वडा नं ८ का वडा अध्यक्ष दलमान गुरुङले मन्तब्य राख्नु भएकाे थियो । कार्यक्रम चाेरकाटे खानेपानी याेजनाका अध्यक्ष दिलिप श्रेष्ठकाे अध्यक्षतामा सन्चालन भएकाे वडा अध्यक्ष भरत हमालले जानकारी दिनु भयाे ।

  • पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    गण्डकी, आइतबार, ११ कात्तिक २०८१ । चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबीच परिचित उक्त पदर्माग संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार अभावमा सुनसान बनेको हो ।

    बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पा जिल्लालाई समेटेर विसं २०६८ मा ‘गुरिल्ला ट्रेक’को पहिचान र नक्साङ्कन गरिएको थियो । नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत निकायको पहलमा विसं २०७२ मा उक्त पदमार्ग घोषणा गरिएको थियो । विसं २०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।

    ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटन विकासको प्रचुर सम्भावना बोकेको भएपनि प्रचारप्रसार र प्रवर्द्धन नहुँदा उक्त पदमार्ग ओझेलमा परेको बताउनुभयो । “पुराना र चल्तीका पदमार्ग नासिँदै गएको स्थितिमा गुरिल्ला ट्रेक वैकल्पिक पदमार्गका रुपमा विकास गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “यो ट्रेक गण्डकी र लुम्बिनी प्रदेशको पर्यटन विकासमा कोशेढुङ्गा बन्न सक्छ ।”

    देशको एकमात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रलाई जोडेर यस क्षेत्रको प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा चिनाउनुपर्नेमा अध्यक्ष आचार्यले जोड दिनुभयो । टानसहित पर्यटन सम्बद्ध सङ्घसंस्थाले सुरुसुरुमा केही प्रवर्द्धनात्मक काम गरेपनि पछिल्लो समय कुनैपनि पर्यटकीय गतिविधि यस क्षेत्रमा हुन सकेका छैनन् । “लामो दूरी भएकाले यो ट्रेक खर्चिलो पनि छ, व्यवस्थित पूर्वाधारलगायत पर्यटकलाई चाहिने सेवासुविधा नहुँदा हामीले पर्यटक पठाउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।

    पहिलोपटक उक्त पदमार्ग पहिचान गर्ने टोलीमध्येका सदस्य सुरेन्द्र रानाले ‘गुरिल्ला ट्रेक’ राज्यको प्राथमिकता पर्न नसकेको बताउनुभयो । महिनौँ लगाएर पदमार्ग पहिचान गरी उतिबेलै ‘गाइडबुक’ (जानकारी पुस्तक) र ‘म्याप’ (नक्सा) तयार पारिएको उहाँले उल्लेख गर्नुभयो ।

    “यो पदमार्ग संरक्षण र प्रवर्द्धनमा सरोकार भएका निकायले विशेष पहल गर्नु जरुरी छ, यसमा राज्यका निकायले पनि सहकार्य गर्नुपर्छ । व्यवस्थित पूर्वाधार बनाउन सबै एकजुट हुनुपर्छ”, रानाले भन्नुभयो । सरकारले चालु आर्थिक वर्षको बजेटमा उक्त पदमार्ग पर्यटकीय कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेपछि केही आशा भने जागेको उहाँले बताउनुभयो ।

    पर्यटक पथप्रदर्शक दिवस गुरुङले प्रकृतिमय भूगोल, ऐतिहासिक महत्वका स्थल, जैविक विविधता, मगर जातिका सघन बस्ती, रैथाने कला, संस्कृति, रहनसहन, रीतिथितीलगायत पदमार्गका विशेषता रहेका बताउनुभयो । “गुरिल्ला ट्रेकको ‘ब्राण्डिङ’ गरी पूर्वाधार निर्माणमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो, “नाम चलेका पदमार्ग छोटिँदै र मासिँदै गएका बेला यो पदमार्गबाट नेपालको पर्यटन क्षेत्रमा लाभ लिन सक्छ ।”

    सो पदमार्गमा पर्यटकीय पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश सरकार र स्थानीय तहले लगानी बढाउनुपर्नेमा पथप्रदर्शक गुरुङले जोड दिनुभयो । “पदमार्ग भनेको पहिले मानिसले हिँडेकै बाटोमा हिँड्ने भन्ने हो, नयाँ पदमार्ग बनाउँदा पनि मौलिकताको ख्याल गरी कङ्क्रिटको प्रयोग गर्नुभएन”, उहाँले भन्नुभयो, “पदमार्ग पहिचान भइसकेपछि ठाउँठाउँमा सूचनापाटी, चिया/खाजाघर, विश्रामस्थल, होटललगायत पूर्वाधारको व्यवस्था गर्नुपर्छ ।”

    पथप्रदर्शक गुरुङले गत वर्ष ३५ दिन उक्त ट्रेकमा एक्लै पदयात्रा गरेको बताउनुभयो । “अरुमा भन्दा बेग्लै अनुभव यस पदमार्गमा गरेको थिए । पूर्वाधार विकास गरी सुविधासम्पन्न बनाउन सके उक्त पदमार्ग पर्यटन विकासमा सहयोगी हुने विश्वास लिएको छु”, उहाँले भननुभयो । उहाँका अनुसार छोटो, मध्यम र लामो दूरीबाट ‘गुरिल्ला ट्रेक’मा यात्रा गर्न सकिन्छ ।

    सबैभन्दा छोटो १४ दिनको पदयात्रा म्याग्दीको बेनी, दरबाङ, गुर्जाघाट, बागलुङको ढोरपाटन, निशेलढोर पूर्वी रुकुमको तकसेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर टुङ्गिन्छ । करिब १९ दिनमा गर्न सकिने मध्यम दूरीको पदयात्रा बेनी, दरबाङ, गुर्जाघाट हुँदै ढोरपाटन पुगेपछि बुकी हुँदै रुकुम पूर्वको पेल्मा, मैकोटतिर जोडिन्छ । मैकोटबाट तकसेरा निस्केर लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुग्न सकिन्छ । सबैभन्दा लामो २७ दिनको पदयात्राले भने पश्चिम रुकुमलाईसमेत समेट्छ ।

    ढोरपाटनबाट पेल्मा, मैकोट, पश्चिम रुकुमको अर्चल, रुकुमकोट, पूर्वी रुकुमको तक्सेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर पदयात्रालाई टुङ्गाउन सकिन्छ ।  बागलुङको ढोरपाटन, रोल्पाको सुलीचौरलगायत ठाउँबाट पनि छोटो र लामो दूरीमा उक्त ट्रेकको यात्रा गर्न सकिन्छ । बागलुङको बुर्तिबाङ, ढोरपाटन हुँदै गरिने पदयात्रा आठ/दश दिनमा टुङ्गाउन सकिन्छ । समय र अन्य व्यवस्थापकीय तयारीलाई हेरेर जुनसुकै मार्ग प्रयोग गरेर ‘गुरिल्ला ट्रेक’मा जान सकिन्छ ।

    पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न ‘गुरिल्ला ट्रेक’को अवधारणा ल्याइएको थियो । अस्तित्वमा आएको दशक बितिसक्दा पनि सोचेजसरी यो पदमार्गको विकास भने हुन सकेको छैन । ‘गुरिल्ला ट्रेक’ पर्यटन सम्बद्ध सङ्घसंस्थाको पनि उपेक्षामा परिरहेको स्थानीयवासीको गुनासो छ । चालु आवमा सङ्घ सरकारको बजेट विनियोजन गरेकाले केही आशा जगाएको स्थानीय बताउँछन् ।

    पूर्वाधार सम्पन्न बनाएर विश्व पर्यटन बजारमा ‘ब्राण्डिङ’ गर्न सके यो पदमार्ग गण्डकी र लुम्बिनी प्रदेशको आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने पर्यटक पथप्रदर्शक गुरुङले बताउनुभयो । यो पदमार्गमा माओवादी जनयुद्धका चिनारी र अवशेषको पनि अनुभव बटुल्न पाइने उहाँले जानकार दिनुभयो ।

    “छापामार हिँड्ने बाटो, सेल्टर, तालिम केन्द्र, बङ्कर, माओवादी नेताका बैठकस्थललगायत अवलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अन्नपूर्ण हिमशृङ्खलादेखि, धवलागिरि, गुर्जा, पुथा, चुरेनलगायत हिमालको दृश्यले पनि पदयात्रालाई रोमाञ्चकता प्रदान गर्छ ।”

    गुरुङका अनुसार बागलुङ, म्याग्दी र पूर्वी रुकुममा फैलिएको ढोरपाटन सिकार आरक्ष यो पदमार्गको प्रमुख आकर्षण हो । “गुरिल्ला ट्रेकबारे पुस्तक पनि प्रकाशित छ, गुगल नक्सा पनि उपलब्ध छ”, उहाँले भन्नुभयो, “अरु पदमार्गको भन्दा बेग्लै अनुभवका लागि पर्यटकले गुरिल्ला ट्रेक रोज्न सक्छन्, साहसिक र रोमाञ्चक यात्रा रुचाउनेका लागि यो उपयुक्त गन्तव्य हो ।”

    अग्ला पहाड, भीरपाखा, खोला र खोँच हुँदै हिँड्नुपर्ने भएकाले गुरिल्ला पदयात्रामा निस्कदाँ सोही किसिमको बन्दोबस्ती मिलाउनुपर्ने गुरुङले बताउनुभयो । ‘गुरिल्ला ट्रेक’मा पर्यटक आकर्षित गर्न सके यस क्षेत्रका एतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर र सम्पदा उजागर हुने उहाँको भनाइ छ ।

    विगतमा युद्धबाट गुज्रेका ग्रामिण बस्ती, त्यहाँको जनजीवन र संस्कृतिको अनुभव दिलाउन आन्तरिक तथा बाह्य पर्यटकलाई ‘गुरिल्ला ट्रेक’मा आकर्षित गर्न सकिने उहाँले बताउनुभयो । “दश वर्षे जनयुद्धका बारेमा बुझ्न र अध्ययनका लागि यो पदमार्ग पाठशाला हुन सक्छ”, उहाँले भन्नुभयो, “मगर जातिको सघन बसोबास रहेकाले तिनको भाषा, संस्कृतिको खोज तथा अनुसन्धान गर्ने थलोका रुपमा पनि यो क्षेत्रलाई विकास गर्न सकिन्छ ।”