Blog

  • नेपालमा पहिलो पटक एआई सम्मेलन

    काठमाडौँ, आइतबार, ११ कात्तिक २०८१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’(एआई) सम्मेलन सुरू भएको छ । आजदेखि सुरू सम्मेलन दुई दिनसम्म सञ्चालन हुने संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका छन् ।

    ओलीले एआईसम्बन्धी राष्ट्रिय नीति बनाउने तयारी भइरहेको जानकारी गराए । एआई विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्ने भन्दै उनले एआईको गलत प्रयोग गरेर समाजमा विद्वेष फैल्याउने कामको भने कडा निगरानी हुन जरुरी रहेको बताए । जीवनलाई सरल र सहज बनाउन एआईको उपयोग गर्नुपर्नेमा उनको जोड छ ।

    उनले भने, ‘एआईले धेरै ठूलो सहयोग गरेको छ । सँगै यसले समाजमा मिस इन्फरमेसन, डिस इन्फरमेसन जस्ता कुराहरु फैल्याएर समाजमा द्वेष कलह भएको छ । यसको मिसयुजको सम्भावना र यसले समाजलाई अझ सभ्य, व्यवस्थ्ति, उन्नत र राम्रो हुनुपर्ने ठाउँमा कतिपय ठाउँमा विकृत र विसंगत पक्षहरुलाई यसले बढाएको देखिन्छ ।

    एआईको दुरुपयोगले मैले गाएको गीत, म नाचेको भिडिओ हेर्छु । मलाई गीत त गाउन आउँदैन । एआईले मेरो स्वरमा राम्रो गीत गाउँछ । यो मै हेरिरहेको छु । एआईलाई यसरी मिसयुज गर्नु हुँदैन । डिजिटल नेपाल भनेको यो खाली मोबाइलमा मात्रै काम हुन्छ भन्ने कुरा त होइन । हामी गाडीमा पुग्दा टाढैबाट ढोका खुल्छ । घरमा जाँदा पनि अनलक गर्न सकिन्छ । अफिसमा हाजिर गर्दा मान्छे चिन्छ । अनुहार चिन्छ । जीवनलाई सरल र सहज बनाउनुपर्छ । देशको विकासमा सहयोगी हुने उद्देश्यले एआईको प्रयोग गर्नुपर्छ ।’

    युवा संघका अध्यक्ष थेबेले सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’का विकास र उपयोगबारे राजनीतिक दल र सर्वसाधारणलाई जानकारी दिने उद्देश्य रहेको बताए । सम्मेलनबाट सरकारलाई एआईका सम्बन्धमा राष्ट्रिय नीति बनाउन सहयोग पुग्ने थेबेको विश्वास छ ।

    विभिन्न १० वटा समूहगत विषयमा छलफल गरिने संघका महासचिव सुमन पुरीले जानकारी दिए । उनका अनुसार ती छलफलमा विदेशबाट आएका एआईका विज्ञहरूले समेत सहभागिता जनाउने छन् । सम्मेलनमा युरोपियन युनियन, जापान, उत्तर कोरिया, बेलायतलगायत देशबाट विज्ञसहितका प्रतिनिधि आएका छन् ।

  • गोरखामा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

    गोरखा, आइतबार, ११ कात्तिक २०८१ । गोरखामा रातको नौ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै बिहान ७ बजेदेखि राती ९ बजेसम्म मात्र देउँसी भैलोको कार्यक्रम गर्न अनुरोध गरेको हो ।

    नेपालीहरुको महान पर्व तिहार तथा छठको अवसरमा जिल्लाको समग्र शान्ति सुरक्षालाई मध्यनजर गर्दै देउँसी भौलौ, नाँचगान लगायतका सांस्कृतिक क्रियाकलापहरु राती ९ बजेसम्म मात्र संचालन गर्नुपर्ने सूचनामा भनिएको छ ।

    यस्तै, कानुन बिपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने/खेलाउने, विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदुषण हुने विस्फोटक पदार्थहरुको आयात, ओसारपोसार, बिक्री वितरण तथा प्रयोग गर्ने कार्य नगर्न समेत प्रशासनको अनुरोध छ ।

    मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला नगर्न, अखाद्य रंग मिलाइएका मिठाई र गुणस्तरहीन खाद्य बस्तुहरुको बिक्री वितरण तथा उपभोग नगर्न, म्याद गुज्रेका भाईमसला, प्लास्टिकजन्य फुलमालाको प्रयोग र बिक्री वितरण नगर्न र व्यवसाय दर्ता नगरी फुटपाथमा व्यापार व्यवसाय नगर्न सूचना मार्फत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

    त्यस्ता गतिविधी गरेको भेटिएमा कानून अनुसार कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ । चाडपर्व मनाउने क्रममा कसैको इच्छा चाहाना बिरुद्धको क्रियाकलाप तथा समाजमा अशोभानीय कार्य नगर्न पनि प्रशासनले अनुरोध गरेको छ । सार्वजनिक सूचना जारी गर्दै प्रशासनले स्वतन्त्र र खुशीयालीपूर्वक चाडपर्व मनाउन, शान्ति शुरक्षा एवं अमनचयन कायम गर्न अनुरोध गरेको हो ।

  • पाँचौं बारपाक सुलिकोट राष्ट्रपति रनिङ शिल्डको उपाधि माझथर मा बि को हातमा

    गोरखा, आइतबार, ११ कात्तिक २०८१ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि माझथर माविले जितेको छ । गाउँपालिकाको केन्द्र ताकुकोटमा भएको प्रतियोगितामा १२ स्वर्ण, ६ रजत र ४ काँस्य गरि कूल २२ पदक जितेर माझथर मावि उपाधि बिजेता बनेको गाउँपालिका शिक्षा शाखा प्रमुख भिमकुमार श्रेष्ठले बताउनु भयो ।

    उक्त बिद्यालयले ३० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यससँगै लगातार ३ वर्ष विजेता बन्दै माझथर माविले बारपाक सुलिकोट गाउँपालिकाको रनिङ शिल्डमा आफ्नो स्वामित्व समेत हाँसिल गरेको छ । त्यस्तै, प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ५ काँस्य गरि कूल १९ पदक सहित सूर्यज्योति मावि उपाधि उपबिजेता बनेको छ ।

    उक्त बिद्यालयले २० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । २ स्वर्ण, २ रजत र १ काँस्य गरि कूल ५ पदक सहित तेस्रो स्थान हासिल गरेको शैलपुत्री माविले १० हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

    प्रतियोगितामा भलिबल खेलको छात्रतर्फ दुर्गा माविका कविराज विक र छात्रातर्फ माझथर माविका पूजा गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यस्तै गरि कबड्डी खेलको छात्रतर्फ सूर्यज्योति माविका सन्देश श्रेष्ठ र छात्रातर्फ सूर्यज्योति माविकै अञ्जना परियार उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । एथलेटिक्समा छात्रतर्फ सूर्यज्योति माविका पविन रम्तेल र छात्रातर्फ माझथर माविका पुनम गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

    विजेता टिमलाई गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले पुरस्कार वितरण गर्नु भएको थियो । सो प्रतियोगितामा १० वटा माध्यामिक र २ वटा आधारभूत गरि जम्मा १२ वटा विद्यालयका चार सय विद्यार्थीको सहभागिता रहेको थियो ।

    बिहीबाट शनिबारसम्म्म संचालन भएको प्रतियोगितामा एथलेटिक्स, कबड्डी र भलिबल गरि कूल ३० विधामा प्रतिस्पर्धा भएको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले खेलकूद प्रतियोगिताले खेलाडीको अनुशासन, खेलभावनाको विकास र सर्वाड्गीण विकास टेवा पु¥याउने बताउनु भयो ।

  • भरतपुर विमानस्थल विस्तार सरकारको प्राथमिकतामा

    चितवन, शनिबार, १० कात्तिक २०८१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले भरतपुर विमानस्थल विस्तारका लागि सरकारका तर्फबाट काम भइरहेको बताउनु भएको छ ।

    रोटरी क्लब अफ चितवनको आयोजनामा भरतपुर भ्रमण वर्षको अवसर पारेर शुक्रबार चितवनमा आयोजना गरिएको इन्टरनेशनल ह्यारिटेड म्याराथनको समापन समारोहमा उनले भरतपुर विमानस्थल विस्तार र क्षमता बढाउनेतर्फ सरकारले काम गरिरहेको बताउनु भयो ।

    भरतपुर विमानस्थललाई रात्रिकालीन उडान गर्नसक्नेगरी उपकरण व्यवस्थापनको काम गर्न सरकार तयार रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, “विमानस्थल विस्तारले पर्यटकको आवागमन पनि बढ्ने छ ।” सबै दृष्टिले केन्द्रमा रहेको यस जिल्लाले पर्यटन क्षेत्रमा निर्वाह गर्नुपर्ने भूमिकालाई महत्वका साथ हेरिने गरिएको मन्त्री पाण्डेले बताउनु भयो ।

  • शहिद लखनका ४८ केन्द्रमा बाल विकास कोष स्थापना गर्न आर्थिक सहयोग

    गोरखा । एकिकरण नेपाल गोरखाले शहिद लखन गाँउपालिकाको ४८ वटा बालबिकास केन्द्रमा बाल विकास कोष स्थापनाको लागि आर्थिक सहयोग गरेको छ । प्लानेट इन्फ्यान्ट्स एण्ड डेभलप्मेन्ट (पिईएण्डडी) फ्रान्सको आर्थिक सहयोग तथा गाँउपालिकासंगको समन्वयमा उक्त विद्यालयहरुमा प्रति बालबिकास केन्द्र रु २५ हजारको दरले साहयता उपलब्ध गराएको हो ।

    एक औपचारिक कार्यक्रम विच शहिद लखन गाँउपालिकाको अध्यक्ष रमेश वावु थापा मगरले सवै विद्यालयहरुलाई रु २५ हजारको दरले चेक हस्तान्तरण गर्नु भएको हो ।

    कार्यक्रममा बोल्दै अध्यक्ष थापा मगरले स्थापित कोषलाई चुस्त, दुरुस्त वनाई प्रयोग गर्नुपर्ने विद्यालयको दायित्व भएको वताए । कुल ४८ विद्यालयमा १२ लाख लगानी पालिकाको लागि महत्वपुर्ण र ठुलो रकम भएको वताउदै यसलाई बालबालिकाको बौद्धिक विकासमा खर्च गर्दै कोषको समेत बृद्धि हुने गरि काम गर्न प्रधानाध्यापकहरुलाई अनुरोध गर्नुभयो ।

    कार्यक्रममा बोल्दै पालिकाको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले प्रारम्भिक बाल विकासमा लगानी गर्दा सवल र शिक्षित नागरिक उत्पादन हुने बताउनु भयो ।

    प्लानेट इन्फ्यान्ट्स एण्ड डेभलप्मेन्ट (पिईएण्डडी) फ्रान्सको कार्यक्रम सल्लाहकार बुद्धि कुमार श्रेष्ठले बाल विकास कोषको स्थापना बालबालिकाको सर्वागिण विकासमा जोडिएको बताउनु भयो ।

    एकिकरण नेपाल गोरखाले विगत एक वर्ष देखि फ्रान्स सरकारको आर्थिक सहयोग तथा प्लानेट इन्फ्यान्ट्स एण्ड डेभलप्मेन्ट (पिईएण्डडी) फ्रान्सको प्राविधिक सहयोगमा गाँउपालिकामा बाल विकासमा काम गरिरहेको छ ।

  • बारपाक सुलिकोटमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    गोरखा, बिहिबार, ८ कात्तिक २०८१ । बारपाक सुलिकोट गाउँपालिकामा पाँचौँ बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बिहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतियोगिताको उद्घाटन गर्दै पालिकाको मा वि स्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

    बिहिबारबाट सुरु भएको सो प्रतियोगिता शनिबारबारसम्म संचालन हुने गाउँपालिका शिक्षा शाखा प्रमुख भिमकुमार श्रेष्ठले बताए । प्रतियोगिताको पहिलो दिन महिलातर्फको कबड्डी खेल सुरु गरिएको उनले जानकारी दिए । सो प्रतियोगितामा पालिका भित्रका १२ वटा माविका करिब पाँच सय विद्यार्थीको सहभागिता रहेको उनले बताए । यो प्रतियोगितामा १५ वटा विधाका खेलहरुमा उनीहरुले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भाग लिने छन् ।

    गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टको अध्यक्षता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बासुदेव पाठक, राष्ट्रिय अनुसन्धान आयोग गोरखाका प्रमुख हुमाकान्त पौडेल, सशस्त्र प्रहरी बल २९ गुल्म गोरखाका डीएसपी केशवराज वलिया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वडा नं. ३,४, ५, ६, ७, ८ का वडाध्यक्षहरु तथा राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

  • बडादशैं सबैको शुभ रहोस्

    गत बिहिबार घटस्थापनादेखि २०८१ सालको बडादशैं आरम्भ भयो । दशैं आरम्भ भएदेखि नै गाउँ सहरमा चहलपहल हर्ष, उमंग सुरु भएको छ । पढ्न तथा जागिरका क्रममा देश, विदेश रहेकाहरु घर फर्कन सुरु गरिसकेका छन् । अनि पर्व मनाउने प्रयोजनका लागि सरसामान किनमेल गर्नेको घुइँचो लाग्न थालेको छ ।

    समूह मिलेर गाउँघर, सहरबजार सरसफाइ गर्न थालेका छन् । लामो समयदेखि नभेटिएका साथीसंगी भेटघाट गर्ने, रमाइलो गर्ने सिजन सुरु भएको छ । कलेज, विद्यालयहरु बिदा भएका छन् । कार्यालयहरु पनि क्रमश विदा हुँदैछ । विदा नभए पनि विदा लिएर घर फर्कने क्रम सुरु भएको छ ।

    त्यसैले, दशैं हिन्दू धर्मावलम्बीहरुको महान पर्व भए पनि माहोलले गर्दा के हिन्दू, के वौद्ध, के मुस्लिम अनि के क्रिस्चियन सबै यो माहोलबाट अछुतो रहन सकेका छैनन् । हिन्दू बाहुल्य भएकाले जताततै रमझम छ । अनि फरक धर्मावलम्बीहरुलाई पनि चाहेर, नचाहेर यो वातावरणले छोइहाल्छ, रमझमको सदस्य बनिहाल्छन् । त्यसैले दशैंलाई नेपालीहरुको महानपर्व भन्ने भाष्य निर्माण भएको छ ।

    सुख र खुशी फैलनु सबका लागि सुखद पक्ष हो त्यसैले सबैले यो समय धुमधामले मनाउन् । अशान्ति, तनाब, खिचातानीलाई बिर्सेर दशैं सुखपुर्वक, खुशीपूर्वक, आनन्दपूर्वक, तनाबरहित भएर मनाउन् । दशैंका बेला अत्याधिक मादक पदार्थ सेवन गरी झै झगडा गर्ने सम्भावना पनि रहन्छ ।

    मादक पदार्थ सेवन गरी सवारी चलाई दुर्घटना गराउने सम्भावना पनि रहन्छ । रामरमितामा भुल्दा चोरीको सम्भावना पनि रहन्छ । अत्याधिक खानेकुरा खाँदा बिरामी हुने सम्भावना पनि रहन्छ । तसर्थ उपरोक्त सबै कुरालाई मध्यनजर गरी सावधान, सचेत, सतर्क भई सुख, शान्तिपूर्वक दशैँ मनाउनु पर्छ । सबैलाई सुख, शान्ति, संवृद्धि, सुस्वास्थ्य, दीर्घजीवनका लागि हार्दिक मंगलमय शुभकामना ।

  • ‘विमल गुरुङ कृति पुरस्कार’का लागि १० कृति सार्वजनिक

    धरान, शनिबार, ३ कात्तिक २०८१ । ‘विमल गुरुङ कृति पुरस्कार-२०८०’ का लागि छनाेट गरेका १० श्रेष्ठ कृतिहरु सार्वजनिक गरेको छ । धरान–१८ मा रहेको कवि विमल गुरुङ स्मृति पुस्तकालयले शुक्रबार छनाेटमा परेका कृतिहरुको नाम सार्वजनिक गरेको हो ।

    छनोट भएका पुस्तकहरुमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कवितासङ्ग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता सङ्ग्रह केवाफुङ्को गीत, मोमिलाको निबन्ध सङ्ग्रह प्रश्नहरु त बाँकी नै रहन्छन्, जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध, इन्दु नेपाल योन्जनको कविता सङ्ग्रह अन्तिम सेलो, प्रकाश थाम्सुहाङको निबन्ध सङ्ग्रह शब्दथुम, अखण्ड भण्डारीको उपन्यास बोरा, प्रवीण खालिङको निबन्ध सङ्ग्रह चियागफ, मन्जुला तामाङ सुब्बाको कविता सङ्ग्रह कुहिरोभित्र घुम जोरबङ्गलो छन् ।

    स्वदेश र विदेशमा नेपाली भाषामा प्रकाशित एक सय १ वटा पुस्तक प्राप्त भएको आयोजकले जनाएको छ । यिनै १० कृतिमध्ये एक कृतिलाई ताम्रपत्र सहित २०८० सालको विमल गुरुङ कृति पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभयो । पुरस्कार राशी २ लाख रुपियाँको छ । पुस्तकालयले दुइ वर्षअघि देखि विमल गुरुङ कृति पुरस्कार प्रदान गर्दै आएको छ ।

    यसैगरी विगत ३३ वर्षदेखि नियमित आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवका लागि पनि पुस्तकालयले १० उत्कृष्ट कविता छनाेट गरेको छ । महोत्सवका लागि प्राप्त भएका ८१ कवितामध्ये १० कविता छनाेट गरिएको आयोजकले जनाएको छ । पुस्तकालयले सार्वजनिक गरेका कविताहरुमा खोटाङका अनाम अपेक्षितको एउटा सडकको समालोचना, संखुवासभाका सिजन श्रेष्ठको तेजबहादुर दर्जी, नवलपरासीका अन्जान प्रदीपको सपना, बेलायतका शान्ति लिम्बूको थेम्स नदीको किनारै किनार, मोरङका समीक्षा छिलिङ राईको फूल र म, इलामका दीपेन्द्र आचार्यको ल्याप्चे, सुनसरीका मिन्जाई राईको बुढो परदेशी, फ्रान्सका प्रशान्त उप्रेतीको विलासी राता बाकस, ताप्लेजुङका लेकाली कान्छा मुक्कुमका रैथाने बगैंचाको अर्गानिक मुस्कान र सुनसरीका दीपा मग्रातीको देशमा मेरो अनुहार छन् ।

    उत्कृष्ट १० मध्ये प्रथमलाई नगद २१ हजार रुपियाँ, दोस्राेलाई १८ हजार रुपियाँ र तेस्राेलाई १७ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

    विमल गुरुङ कृति पुरस्कार र कवितामा विजयी उत्कृष्ट तीनजनालाई २०८१ कात्तिक २४ गते पुस्तकालय भवनमा आयोजना हुने कवि विमल गुरुङको ५३ औं जन्मजयन्ती तथा ३३ औं राष्ट्रिय कविता महोत्वमा पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

  • रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान गरिने

    काठमाडौँ, शनिबार, ३ कात्तिक २०८१ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि संगठित अपराध र सहकारी ठगीमा अनुसन्धान गर्न अनुमति पाएको छ ।

    जिल्ला प्रहरी कास्कीले कृष्णबहादुर जैसीसमेतको जाहेरीमा दुईवटा कसुरमा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति मागेको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार दुवै कसुरमा रविलाई पक्राउ गर्न अनुमति दिएको हो ।

    पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अनधिकृतरूपमा गोर्खा मिडियामा लगानी गरेर अपचलन गरेको कसुरमा रविविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौंको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा रहेका रविलाई आजै पक्राउ गरेर स्थलमार्गबाट पोखरा लगिनेछ ।

  • शालिग्राम

    पर्वतको विहादी गाउँपालिका ६ सेतीवेणीस्थित कालीगण्डकी नदी किनारमा रहेको शालिग्राममा शिला पूजाअर्चना गर्दै भक्तजन । कालीगण्डकी नदी र सेतीखोलामा जलसतह घटेसँगै शिला दर्शनका लागि आउने भक्तजनको संख्या बढेकाे छ ।

    तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस