Blog

  • राष्ट्रियसभा अध्यक्ष दाहाल र भारतीय लोकसभा अध्यक्ष बिरलाबीच भेटवार्ता

    जेनेभा, शनिबार, ३ कात्तिक २०८१ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र भारतीय संसद लोकसभाका अध्यक्ष ओम बिरलाबिच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर-व्यवस्थापिका संघको १४९ औं महासभामा सहभागी हुन जेनेभामा रहेका अध्यक्ष दाहाल र लोकसभा अध्यक्ष बिरलाबीच द्विपक्षीय भेटवार्ता भएको हो ।

    सो अवसरमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, अनुभव आदान प्रदान तथा आपसी हितका बारेमा छलफल भएको थियो । भेटमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल-भारत दुई देशबीच कूटनीतिक-राजनीतिक तहमा मात्रै नभइ जनस्तरमा गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै जनताबीचको भावनात्मक सम्बन्धले दुई देशको सम्बन्धलाई अझ बलियो बनाएको बता ए।

    “नेपाल-भारत असल छिमेकीका रुपमा ऐतिहासिक सम्बन्ध त छँदैछ, अध्यक्ष दाहालले भने, “जनस्तरको गहिरो भावनात्मक सम्बन्धले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाएको छ ।”

    संघीय संसदले विगतदेखि नै नेपाल-भारत संसदीय मैत्री समूह गठन गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले दुई देशका संसदहरू बीचको पारस्परिक सहयोग, अभ्यास र अनुभव आदान प्रदानका लागि भेटघाट र भ्रमणलाई जोड दिनुपर्ने बताए ।

    एक अर्काका संसदीय अभ्यास र अनुभव आदान प्रदानले लोकतान्त्रिक मूल्यमान्यतालाई सुदृढ गर्न र सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने अध्यक्ष दाहालले बताए । सो अवसरमा भारतीय लोकसभाका अध्यक्ष बिरलाले भारत र नेपाल छिमेकी मात्रै नभइ ऐतिहासिक सम्बन्ध र संस्कृतिका संरक्षक भएको बताए ।

    दुई देशका सामाजिक, सांस्कृतिक सम्बन्ध परापूर्वकालदेखि नै घनिष्ट रहेको भन्दै उनले कूटनीतिक सम्बन्ध स्थापित हुनुपूर्व नै दुई देशका जनताबीच बलियो सम्बन्ध रहेको बताए ।

    भारतीय संसदका विविध आयाम र पक्षहरुको चर्चा गर्दै अध्यक्ष बिरलाले दुवै देशका संसदीय प्रक्रिया र अभ्यास उस्ताउस्तै भएकोले संसदीय अनुभव पनि एकै खालको भएको बताए ।

    भौगोलिक हिसाबले पनि नजिक भएकाले आवश्यकता अनुसार जतिबेला पनि भेटघाट, भ्रमण आदान प्रदान गर्न सकिने भन्दै उनले दुई देशका संसदीय भ्रमण र सहकार्य वृद्धि गर्नुपर्नेमा जोड दिए । भेटमा दुवै देशका प्रतिनिधिमण्डलमा सहभागी सांसद तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  • खार्किभ शहरबाट अन्यत्र जान युक्रेनका सर्वसाधारणलाई आग्रह

    युक्रेन, शुक्रबार, २ कात्तिक २०८१ । युक्रेनले उत्तरपूर्वी शहर खार्किभबाट हजारौं मानिसलाई निस्कासन गर्ने शुक्रबार जनाएको छ । सन् २०२२ मा मस्कोले आक्रमण सुरु गरेको छ महिनापछि किएभले रूसबाट फिर्ता लिएको उक्त क्षेत्रका सर्वसाधारणलाई घर छोडी सुरक्षित स्थलतर्फ जान खार्किभले आग्रह गरेको हो ।

    उत्तरपूर्वी खार्किभ क्षेत्रको प्रमुख रेल केन्द्र कुपियान्स्कले पछिल्लो समयमा मस्कोका सेनाहरू सहरको केही क्षेत्रभित्र पुग्दा घातक आक्रमणको सामना गर्नु परेको छ ।

    “निरन्तरको आक्रमणको कारण त्यहाँका बासिन्दालाई बिजुली र पानीलगाएतका आधारभुत आवाश्यकतासमेत उपलब्ध गराउन नसकेको यस क्षेत्रका गभर्नरले बताउनुभएको छ । उहाँका अनुसार कुपियान्स्क र नजिकैका तीन समुदायका सबै नागरिकलाई उक्त स्थान छोड्न आदेश दिइएको छ ।

    गभर्नर ओलेग सिनेगुबोभले आफ्नो टेलिग्राममार्फत यस क्षेत्रका दश हजार मानिसलाई निस्कासन गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार घर छोडी सुरक्षित स्थलतर्फ पलायन हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको केही समयपछि मस्कोले कुपियान्स्कलाई कब्जा गरेको थियो भने युक्रेनी सेनाले लगभग छ महिनापछि यसलाई पुनः कब्जा गरेको थियो ।

    युद्धअघि यस क्षेत्र करिब ३० हजार मानिसको वासस्थान थियो । बारम्बारको रूसी आक्रमणले गर्दा यस क्षेत्रका धेरै भवनहरू नराम्ररी क्षतिग्रस्त भएका छन् धने दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ ।

    यसैबिच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हप्ता रूससँगको युद्ध अन्त्य गर्ने आफ्नो दृष्टिकोण तय गर्दै महत्वाकाङ्क्षी ‘विजय योजना’ सार्वजनिक गर्नुभएको छ ।

    रूस पूर्वी युक्रेनका क्षेत्रमा महिनौंदेखि अगाडि बढिरहेको छ भने किएभको सेनाले थकान र जनशक्तिको अभावको सामना गरिरहेको कारण दशौं साना सहर र गाउँहरू रूसको कब्जामा परेका छन् । रासस/एएफपी

  • कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरेर लामिछानेले गिरफ्तारी दिने

    काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरेर गिरफ्तारी दिनुहुने भएको छ । रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार केहीबेरमा पार्टी कार्यालयमा पुगेर लामिछानेले सम्बोधन गरेर पोखरा जाने जानकारी गराउनुभएको हो ।

    रवि लामिछानेलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएपछि पार्टी कार्यालयमा पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै कार्यवाहक प्रवक्ता झाले यस्तो बताउनुभएको हो ।

    उहाँले पक्राउ गर्न आउने प्रहरी अधिकारीलाई प्रतिकार नगर्नसमेत कार्यकर्तालाई अनुरोध गर्नुभएको छ । प्रहरीले भने लामिछानेलाई सम्बोधन गर्न दिने वा नदिने भन्ने निर्णय गरिसकेको छैन ।

    “अबको आधा घण्टामा पार्टी सभापति आउनुहुनेछ । त्यसपछि उहाँले केही बोलेपछि हामी सडकमार्ग हुँदै पोखरातर्फ लाग्नेछौँ’, कार्यवाहक प्रवक्ता झाले भन्नुभयो ।

  • रास्वपा कार्यालयमा कार्यकर्ताको भिड

    काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा समर्थक जम्मा भएका छन् ।

    काठमाडौँ वनस्थलीमा रहेको पार्टी कार्यालय परिसरमा अहिले धेरै संख्यामा प्रहरी परिचालन भएका छन् भने पार्टी मुख्यालयको प्रवेशद्वार पनि बन्द गरिएको छ ।

  • प्रहरीलाई रवि लामिछानेले भने- मलाई गाडीबाटै पोखरा लैजानुस्

    काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गाडीबाटै पोखरा पुर्‍याउन अनुरोध गरेका छन् ।

    शुक्रबार जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली काठमाडौंको च:मतिस्थित पार्टी कार्यालयमा पुगेको छ। त्यहाँ एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली पुगेको हो ।

    उक्त टोलीलाई सभापति लामिछानेले आफूलाई गाडीबाटै पोखरा पुर्‍याउन अनुरोध गरेको स्रोतले जानकारी दिएको छ । उनको अनुरोधलाई प्रहरीले स्वीकार गरेको र गाडीको व्यवस्था गर्ने तयारी भइरहेको पनि स्रोतले बताएको छ ।

    सभापति लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा अनुसन्धान हुनेछ ।

    रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले अहिले केहीबेरमा सभापति लामिछानेले पार्टी कार्यालयमा बोल्ने कार्यक्रम रहेको बताएका छन् ।

    पार्टी सदस्यहरू तथा पत्रकारहरूबीच सभापति लामिछानेले आफ्ना कुरा राख्ने पनि झाले जानकारी दिए ।

    उनले त्यसपछि सभापति लामिछाने स्थलमार्गबाट पोखरा जाने बताएका छन्। पार्टी कार्यालयमा आएका प्रहरीहरूलाई अवरोध नगर्न पनि उनको आग्रह छ ।

  • दसैँको दक्षिणा ‘शिक्षामा लगानी’

    काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । दसैँको समयमा अधिकांश बालबालिकाको हातमा पैसा हुन्छ । दक्षिणामा पाएको यस्तो रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गर्छन् ।

    कैलालीको टीकापुर–१ की समृद्धि पोखरेल यस वर्षको दसैँको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजनामा हुनुहुन्छ । कक्षा ६ मा अध्ययनरत समृद्धि दसैँ बिदा भएलगत्तैदेखि चित्रकला सिकिरहनुभएको छ । “मलाई चित्र बनाउन रुचि छ, त्यसैले दसैँको बिदा सदुपयोग गरिरहेकी छु”, उहाँले भन्नुभयो, “यसपटकको दक्षिणा चित्रकलाका लागि आवश्यक पेन्टिङका सामान किन्ने योजनामा छु ।”

    कक्षा ७ मा अध्ययनरत कैलालीको लम्की चुहाकी सोनी उपाध्याय पनि यसपटकको दक्षिणाले अध्ययनका लागि आवश्यक ‘नोट कापी’ किन्ने तयारीमा हुनुहुन्छ । “मैले गत वर्षको दक्षिणाबाट राम्रो लुगा किनेकी थिए, यस वर्ष भने आफूलाई वर्षभरि पुग्ने कापी किन्ने हो । दसैँको रकम अनावश्यक खर्च नगर्ने सोँचेकी छु ।”

    कक्षा १० मा अध्ययनरत बन्दना रेग्मी पनि दसैँ खर्च जोगाउने तयारीमै हुनुहुन्छ । गत वर्ष साथीहरूसँग टीकापुर पार्कमा पिकनिक गएकी बन्दना यस वर्ष अध्ययनका लागि आवश्यक सामग्री किन्ने योजना रहेको बताउनुहुन्छ । “के किन्ने भनेर योजना बनाउँदैछु । स्कूल झोला अध्ययनका लागि उपयोगी सामग्री किन्ने कि भन्ने सोचमा छु”, उहाँले भन्नुभयो ।

    हरेक वर्ष बडादसैँलगायत चाडपर्वमा प्रायः सबैजसो विद्यालयमा करिब एक महिना लामो बिदा हुने गरेको छ । कतिपयले घरायसी काम, घुमफिर र रमाइलो काममै बिदा गुजार्ने गर्छन् । शिक्षकहरू भने चाडपर्वको समय अनावश्यक काममा खेर फाल्नुभन्दा सिर्जनात्मक काममा प्रयोग गरेर बिताउँदा राम्रो हुने बताउँछन् । यसका लागि अभिभावकले नै वातावरण बनाइदिनुपर्ने शिक्षक कृष्ण जैसीको सुझाव छ । “एक महिना बिदा हुन्छ । यो समय सिर्जनात्मक र नयाँ सिकाइका लागि प्रयोग गर्नु उपयुक्त हुन्छ । विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने समय पनि हो यो । त्यसैले अभिभावकले नै आफ्ना बालबालिकालाई चाडपर्वमा पाएको दक्षिणा राम्रो काममा खर्च, बचत गर्ने बानीको विकास, पैसाको महत्व बुझाउने र सदुपयोग गर्न सिकाउनुपर्छ”, उहाँले भन्नुभयो, “यो समयमा नयाँ पुस्तक पढ्ने, नयाँ पुस्तक किन्ने जस्ता कार्यमा खर्च गर्न सकिन्छ । यसका लागि अभिभावकले नै उत्प्रेरित गर्न आवश्यक छ ।”

    टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी पनि लामो बिदालाई त्यत्तिकै खेर नफाली अभिभावक र बालबालिकाले रमाइलो वातावरणमा व्यावहारिक सीप सिकाउन प्रयोग गर्नुपर्ने सुझाव दिनुहुन्छ । “मानिसको जीवनमा सधैँ काम र पढाइको व्यस्तता हुनसक्छ । सबैलाई रमाइलो वातावरण र मनोरञ्जन चाहिन्छ । यसर्थ अभिभावकले बालबालिकालाई समय र पैसा अनावश्यक खर्च गर्नु हुँदैन भनी सिकाउनुपर्छ । रमाइलो वातावरणमा घरको काम सिकाउने, सिर्जनशील काममा लगाउनसके राम्रो हुन्छ”, उहाँले भन्नुभयो ।

  • विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी

    काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने लगायत विषयमा छलपल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठक सुरु भएको छ ।

    प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा उक्त मनसुनजन्य विपद्का घटनाबाट मृत्यु भएका व्यक्तिका परिवारको स्वास्थ्य बीमा, प्रभावितका लागि अस्थायी आवास निर्माण, पुनः निर्माण तथा पुनःस्थापनालाई तीव्रता दिने, विपद्पश्चातको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन थप हेलिकप्टर व्यवस्था गर्ने सहित सात प्रस्ताव रहेका छन् ।

    बैठकमा २०८० कात्तिक १९ पछिको सम्पूर्ण विपद्का घटनाहरुको समीक्षा गर्ने, त्यसयताका घटनामा मृत्यु भएका व्यक्ति, सुरक्षाकर्मी, एवं खोज तथा उद्धारका क्रममा खटिइ मुत्यु भएका सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गर्ने र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने, विपद्पश्चातको खोज, उद्धार तथा राहत वितरणलगायतका कार्यमा सम्लग्न सबै व्यक्ति एवं सङ्घ–संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्ने पनि कार्यसूची रहेको छ ।

    बैठकमा परिषद्का सदस्यहरु उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरुलगायत सहभागी हुनुहुन्छ भने परिषद्को सदस्य रहनुभएका प्रमुख विपक्षी दलका नेता उपस्थित हुनुभएको छैन ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा परिषद्का सदस्यसचिव अनिल पोखरेलले ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको उक्त मनसुनजन्य विपद्का कारण स्वदेशी र विदेशीसहित दुई सय ५० को मृत्यु भएको बताउनुभयो ।

    उहाँले प्रारम्भिक अध्ययनमा रु ४६ अर्ब बराबरको क्षति भएको जानकारी गराउनुभयो । नेपाल सरकारले उक्त विपद्बाट अति प्रभावित ७१ पालिका रहेको घोषणा गरिसकेको छ ।

  • विदेश, निराशा अनि धारे हात !

    काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । कफी पसलको एक कुनामा पैसठ्ठी वर्षका मेरा बाउको एक जना साथी भेटिनु भयो । बाउको साथी भएको हुनाले मैले वहाँलाई काका नै भनेर सम्बोधन गर्ने गर्दछु। एक्लै बसेको देखेर मैले नमस्कार गर्दै वहाँको हालखबर सोधेँ। मुसुक्क मुस्कुराएर सबै ठिक छ नि बाबु भन्दै मेरो बसाई, परिवार तथा आम्दानीको बारेमा सबै जानकारी लिनुभयो । पैतृक सम्पत्ति, शहरको बीचमा भएको घरबाट बहाल र सेवा निवृत्त भए पश्चातको पेन्सन अनि काकीको वृद्ध भत्ता … आर्थिक रूपले सम्पन्न नै मान्नु पर्दछ। एउटा फोटो खिचौँ न ल भनेर वहाँले आइफोन निकाल्नु भयो र फोटो खिच्यौँ। नयाँ जस्तै देखिने वहाँको आइफोन पाँच महिना अघि अमेरिकाबाट ल्याउनु भएको रहेछ। “काकीलाई छोरीले अस्ट्रेलियाबाट फोन पठाइदिएको थिई, अमेरिकाबाट आउँदा छोरोले मलाई यो फोन दियो ….”

    धेरै वर्ष पश्चात् भेट भए पनि फोनकै कारणले वहाँको छोराछोरीको बारेमा थप बुझ्न परेन। म एस.एल. सी. दिने बेलामा काकाका छोराछोरी काठमाडौंमा राम्रो बोर्डिङ स्कुलमा प्राथमिक तहमा पढ्थे । पढाइमा अब्बल… आफ्नो कक्षामा सधैँ पहिलो दोस्रो। एक पटक वहाँले घरबाट पठाइदिनु भएको सामान पुर्‍याउन ती बाबु नानीको होस्टेलमा जाँदा अङ्ग्रेजीमा “होस्टल क्षेत्रमा अंग्रेजी भाषा अनिवार्य” सूचना टाँसिएको थियो। आफूले कनीकुथी अंग्रेजी बोल्दा उनीहरू फरर अंग्रेजी बोल्थे। समय क्रम बित्दै जाँदा उनीहरूले स्नातक तहमा अमरीका र अस्ट्रेलिया पुगे । पढ्दै काम गर्दै गरेर उनीहरू उतैका नागरिक बने। नेपालमा बसाइसराइ आउने वा नेपालबाट विदेशमा बसाई सर्ने प्रक्रिया सामान्य नै हो । सामाजिक, आर्थिक, राजनैतिक वा सांस्कृतिक लगायत विविध कारणबाट व्यक्ति तथा र परिवार बसाई सर्ने गरेको हामीलाई ज्ञात नै छ।

    १३ ‌औँ शताब्दी देखी नै नेपालमा औपचारिक तवरले बसाई सराई गरेको इतिहास हामीसँग छ। जङ्ग बहादुरको पालामा ब्रिटिस कम्पनीहरूमा काम गर्न नेपालीहरूलाई कामदारका रूपमा पठाउने गरिन्थ्यो नै। अहिलेका म्यानपावर व्यवसायीका एजेन्ट जस्तै तत्कालीन अवस्थामा गल्लाहरू गाउँ गाउँमा सक्रिय थिए। अहिले त कतिपय विद्यालय, विभिन्न शैक्षिक कल्सल्टेन्सीहरु र अभिभावक आफैले जसरी छोरा छोरीले पैसा कमाउने नै हो भनी युवालाई विदेश पठाउनका लागि अभिप्रेरित गर्ने गरेका छन। काकाका छोरा छोरीले नेपालमै बसेर दुख गर्ने जमर्को गरेनन् । आफ्नो कमाई र चार कठ्ठा जग्गा बेचेर छोरा छोरी दुबैलाई विदेशमा पढ्न पठाए । उतै बसोबास गर्दै गरेको अर्को नेपालीलाई जीवनसाथीको रूपमा चुने, अनि नेपालमा आएर समाजको अगाडी धूमधामसँग विवाह गरे । काकाका सन्ततिले विदेशमा गएर प्रगति गरेको देखेर कतिपय आफ्ना र छिमेकीले मन कुँड्याइरहेका छन।

    काका काकी आफै पनि समय समयमा विदेश गई रहनु हुन्छ। हात खुट्टा सबल भएको बेलामा विदेशमा गएर पनि काकाले सानो तिनो काम समेत गर्नु हुँदो रहेछ । जुनसुकै काम भए पनि सेवा निवृत्त काकालाई अफट्यारो परेन। श्रमिक र काम प्रति सम्मान हुने त्यो स्थानमा काकालाई खासै अप्ठ्यारो पनि लागेन । बरु कमाएको पैसा छोरा छोरीलाई दिएर सहयोग नै गर्नु भएको रहेछ। पछिल्लो पटक तीन वर्ष पछि अमेरिका पुग्नु भएको काका काकीको सम्पूर्ण खर्च छोराले नै बेहोर्नु परेको रहेछ।

    नेपालबाट दिन दिनै युवाहरू बिदेसिनु परेको विषयलाई हामीले गम्भीर चुनौतीका रूपमा चित्रण गरिरहेका छौँ। नेपालको विकासमा सहभागी हुनु पर्ने युवाहरू विदेशको विकास र आकर्षक जीवनयापन प्रति प्रभावित हुनुलाई अन्यथा भन्न पनि नसकिएला। सन् १९४० को दशकमा युरोप देखि उत्तर अमेरिकामा ठुलो सङ्ख्यामा बसाई सरेका थिए। सन् १८८० को दशकमा पूर्वी युरोपबाट ठुलो मात्रामा दक्षिण युरोपमा बसाई सराई भएको थियो भने सन् १८२० देखि १९८० सम्ममा करिब ३ करोड ७० लाख युरोपेलीहरू अमेरिका पुगेका थिए। दोस्रो विश्व युद्धका समयमा नाजीहरूले करिब ८० लाख विदेशीहरूलाई जर्मनीबाट निकालेका थिए तत्कालीन सोभियत युनियनले करिब १ करोड जर्मनलाई रसियाबाट निकालेका थिए। वर्तमान समयमा वैदेशिक रोजगारीको लागि आकर्षक मानिने दक्षिण कोरियामा समेत सन् १९०० अघि सम्म ठुलो सङ्ख्यामा विदेशमा रोजगारीका लागि जाने गरेका थिए। सन् १९०० को पहिलो दशकमा जापानले कोरियालाई कोलोनाइज गरे पश्चात् कोरियालीहरू अमेरिकाको हवाई प्रान्तमा कृषि कार्यमा सहयोग गर्न पुगेका थिए।

    कोरियाली युद्ध तथा सो पश्चात् राजनैतिक अस्थिरता, असुरक्षा तथा असहज जीवनयापनको अवस्थामा कोरियालीहरू अमेरिका, जापान, चीन र अन्य मुलुकमा पुगेका थिए। नेपालबाट विदेशमा जाने अधिकांश नेपालीहरूले आर्थिक कारणले मात्र गएका हुन भन्न सकिने अवस्था छैन। राजनैतिक अस्थिरता वा सुशासन मात्रै पनि कारण हैन ।

    मुलुक विकास नभएर वा आफूले पढेको विषयमा रोजगारी नपाएर बिदेसिनु परेको हो भन्ने यदाकदा केही व्यक्तिबाट सुन्नमा पनि आउँछ। तर, काका काकीले आफ्नो सन्‍तती विदेशमा गएर अध्ययन गर्न पाउन् र उनीहरूको जीवनयापन सहज होस धारणा राख्नु भएको रहेछ। राजनैतिक अस्थिरता र नागरिकको असुरक्षा लगायतका विषय भन्दा पनि विदेशमा पुगेका युवाले बेला बेलामा नेपालमा आएर “हैट यस्तो देशमा के बसेको” भनेर नेपालमै राम्रो शिक्षा लिइरहेका काका काकीका सन्ततिलाई समेत प्रभावित पारेका थिए रे ।

    हो, विदेशमा भए गरेका विकासबाट हामी प्रभावित हुनु पर्दछ नै । विभिन्न श्रोतको प्रयोग गरेर विदेश पुगेका हाम्रा कर्मचारी र जनप्रतिनिधिले पनि विकास देख्नु भएको नै छ ।तैपनि, हाम्रो विकास गर्ने इच्छा र जाँगर किन आएन भनेर प्रश्न आउनु स्वाभाविक नै हो। प्रक्रिया पुगेर आएमा नागरिकता सहजै पाउने हुँदा हुँदै पनि चाँडै नागरिकता बनेकोमा नागरिक ससंकित हुन्छ र सक्कली हो वा नक्कली हैन भनेर छुट्टाउन जिल्ला प्रशासन नजिक भएको फोटो खिच्ने संस्थाको प्रतिनिधिलाई पाँच सय रुपैंया परीक्षण गराउँछ। रोजगारीको अवसरको अभावमा हामीले विश्व विद्यालयबाट प्राप्त गरेको शिक्षा होस या शुल्क तिरेर लिएको तालिम होस्, यसले श्रम बजारमा प्रवेश गराउन सकेन भने यसमा प्रश्न आउँछ नै। नेपालमा रहेका औद्योगिक प्रतिष्ठानका लागि आवश्यक पर्ने सीप हामीले उपलब्ध गराउन सकेका छौँ र ? नेपालमै काम गरे आफ्नो बाउ बाजेले आर्जेको इज्जत बिग्रने डरले हामीले काम नगर्दा नेपालको रोजगारीमा विदेशी नागरिक काम गरिनै रहेका छन् । ‘माछा दिएर हैन, माछा मार्ने बल्छी दिने’ वाक्यांश सुन्दै गर्दा माछा छ कि छैन भनेर पनि विश्लेषण गर्ने पनि होला।

    शिक्षा तथा सीप विकासका क्रियाकलापले श्रम बजारको मागलाई सम्बोधन गर्नु पर्दछ, यो सत्य हो, तर रोजगारी वा स्वरोजगारी नभएको अवस्थामा जस्तो सुकै दक्ष र शिक्षित नागरिक भए पनि आखिरमा कँहि कतै जानु पर्ने नै होला। सामान्य अध्ययन गर्ने बित्तिकै १०-५ को जागिर पाउनु पर्दछ भनेर धेरैले श्रम प्रधान कार्यमा संलग्न नै हुँदैनन्। रोजगारी सिर्जना गर्ने दायित्व सरकारले लिएको छैन – निजी क्षेत्रको पोल्टामा हालिएको छ। रोजगारी सिर्जनाको लागि वातावरण बनाउनका लागि नीतिगत र कानुनको निर्माण गर्ने र सो को प्रभावकारी कार्यान्वयन गर्न हामी चुक्दै गएको हैनौँ र ? हामीले आफ्नो श्रोतको परिचालन एघार बजे देखि तीन बजे सम्म टक्क आँखा गाडेर टिएमएस चलाउँदैमा प्रयोग गरेका छैनौँ र ? कृषि र उद्योगमा हामी स्वयम लगानी गर्दैनौँ र यो क्षेत्रमा विदेशी लगानी पनि भित्राउँदैनौँ ।

    आफू पनि लगानी नगर्ने र अरूलाई गाली गरिरहने प्रचलन रहने बेला सम्म हामीले आर्थिक समृद्धि हाँसिल गर्ने छैनौँ। सबै सामाग्रीहरू आयात गरेर भन्सारमा आधारित अर्थतन्त्र निर्माण गरेका हामीले बच्चा उत्पादन कारखाना बाहेकका अन्य उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जागरूक हुनु पर्ने हैन र?

    पाँच महिना अघि मात्रै काका काकी छोरासँग विदेशमा हुनु भएकोले किन खर्च गर्ने भन्दै वहाँको सन्तान दसैँमा नेपाल नआउने वहाँहरूलाई थाहा थियो । आज भोली चाडपर्व नआइदिए पनि हुन्थ्यो भन्ने वहाँलाई लाग्दो रहेछ। आफ्नो हात खुट्टाले साथ छाड्दै जाँदा, बिरामी पर्दा वा आफ्ना प्रियको साथ नहुँदा आफूलाई नरमाइलो लाग्नु स्वाभाविक नै हो ।

    चाडपर्व मनाइरहेका व्यक्तिले सामाजिक सञ्जालमा राख्ने फोटो तथा भिडियोले एक्लो जीवनयापन गर्दै गरेका बुडाबुडीको मनलाई ठेस पुग्ने गरेको हेक्का कसैले राख्दैन। विदेशमा बस्ने छोराछोरीले नेपालको राजनैतिक र आर्थिक अवस्था कमजोर बनाएको भन्दै गर्दा वा भाइरल बन्ने लोभमा सामाजिक सञ्जालमा असहिष्णु भाव व्यक्त हुँदै गर्दा वा आफ्नो मनको कुण्ठा व्यक्त गर्दै गर्दा यसले मुलुक निर्माणमा के कति योगदान गरेको छ भन्ने हेक्का राख्नु पर्ने आवश्यकता ठानिँदैन। बूढाबूढीलाई सामाजिक सुरक्षा भत्ता बाँड्दैमा सरकारको दायित्व त पुरा भएको होला, एक्लोपन हटाउन त कसरी सक्ला र । अब उनीहरू नआउने, आफू त्यहाँ बस्न नपाइने ……. तैपनि काकाले अरूलाई विदेशमा गएर जीवनयापन सहज बनाउन भने सल्लाह दिनु हुँदो रहेछ।

    काकालाई आज भोली नेपालको विकास हुन नसकेको, आर्थिक उन्नति हुन नसकेको, युवा बिदेसिनु परेको भनेर कुर्लने दल र व्यक्तिहरू खुब मन पर्ने रहेछ। फलानोको चस्मा महँगो, फलानोको श्रीमती भ्रष्टाचारी भएको र बुढाहरूले यो देश बनाउन नसकेको धारणाहरूलाई सरकारी सेवाबाट सेवा निवृत्त काकाले सामाजिक सञ्जालमा खुब प्रचार गर्नु हुँदो रहेछ। नेपालको शिक्षा गरिखाने नभएको, युवा बिदेसिनु परेको, मुलुकको आर्थिक अवस्थामा नयाँ संरचनाले थप खर्च बढाएको आदि इत्यादिको टिप्पणी सुन्दै गर्दा कफी सकिएछ। हामी किन, कहाँ, कसरी र के मा अल्झियौँ भनेर गम्दै म काकासँग बिदाबारी भएँ ।

    (लेखक श्रम तथा रोजगारीका क्षेत्रमा कार्यरत छन्।)

  • सेप्टेम्बरमा उच्च तापक्रम, अत्यधिक वर्षाको नयाँ रेकर्ड

    काठमाडौँ, नेपालले सन् २०२४ को सेप्टेम्बरमा चार दशकयताकै ऐतिहासिक वर्षा र उच्च तापक्रमको सामना गरेको छ ।

    जल तथा मौसम विभागको प्रारम्भिक प्रतिवेदनले सेप्टेम्बरमा देशभर औसतका तुलनामा १७०.१ प्रतिशत वर्षा भएको देखाएको छ । सेप्टेम्बरमा सरदरमा २४२.९० मिलिटिर वर्षा हुने गरेकोमा यो वर्ष भने ४१३.१ मिलिमिटर पानी परेको थियो। यो सन् १९८१ यता सेप्टेम्बर महीनामा सबैभन्दा धेरै मापन गरिएको वर्षा हो ।

    यो महीना बागमतीदेखि सुदूरपश्चिमसम्मका विभिन्न भूभागमा ४०० मिलिमिटरभन्दा बढी वर्षा भयो। सबैभन्दा बढी वर्षा हेटौंडामा ७७८.७ मिलिमिटर रेकर्ड गरियो। एकै दिन उच्च वर्षाको रेकर्ड पनि यही महीना कायम भएको थियो ।

    सेप्टेम्बर २८ मा दामन स्टेशनमा २४ घन्टाको अवधिमा ४१० मिलिमिटर वर्षा मापन गरिएको थियो। जुन यो महीनाको सबैभन्दा ठूलो एकदिने वर्षा थियो ।

    मनसुनको अन्त्यतिर बाङ्लादेश र पश्चिम बंगाल नजीक गहिरो न्यूनचापीय प्रणालीले नेपालमा अत्यधिक वर्षा निम्त्याएको थियो । मनसुन सकिने वेला भएको असाधारण वर्षाले जलवायु परिवर्तनका संकेतलाई अझ स्पष्ट बनाएको छ। यो वर्षाले देशको मध्य र पूर्वी भागमा जनधनको ठूलो क्षति गराएको छ ।

    वर्षा मात्रै होइन, सेप्टेम्बरमा तापक्रमले पनि देशका अधिकांश भागमा नयाँ उचाइ कायम गर्‍यो। लहानमा २३ सेप्टेम्बरमा ३९.५ डिग्री सेल्सियसको सर्वाधिक तापक्रम मापन भयो । विभागले सेप्टेम्बर महीनामा देशका अधिकांश भूभागको औसतका तुलनामा बढी अधिकतम तापक्रम रेकर्ड भएको जनाएको छ । सेप्टेम्बरमा देशका अधिकांश स्थानमा न्यूनतम तापक्रम पनि औसतभन्दा बढी पुगेको देखायो। यसले दिउँसो र राति बढी तातो अनुभूति भयो ।

    यो महीनाले धेरैलाई प्रश्न उठाउन बाध्य बनाएको छ- के यो चरम वर्षा र तापक्रमको वृद्धि जलवायु परिवर्तनको दिगो प्रभावका रूपमा देखा परेको हो ? देशका ग्रामीण तथा शहरी क्षेत्रमा पनि यसको प्रत्यक्ष असर देखिन थालेको छ । अत्यधिक वर्षाले धेरै ठाउँमा बाढी र पहिरो निम्त्याएको छ, जसले कृषि, पूर्वाधार र जीविकोपार्जनलाई नराम्ररी प्रभावित गरेको छ ।

    यस घटनाले नेपाल सरकारलाई विपद् व्यवस्थापन र जलवायु अनुकूलनमा पुनर्विचार गर्न घचघच्याएको छ । आज मात्रै विश्व ब्यांकले नेपाललाई आपत्‌कालीन प्रतिकार्य र विपद् प्रतिरोधात्मक क्षमतामा सुधार गर्न १५ करोड अमेरिकी डलर (करीब २० अर्ब रुपैयाँ) ऋण दिन स्वीकृति जनाएको छ ।

  • चितवनमा रगतको अभाव

    चितवन, जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर्न दाताहरूलाई आग्रह गरेको छ ।

    यहाँ दैनिक दुई सय युनिट रगतको माग हुने गरेको भए पनि अहिले रगत पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको सोसाइटीको चिवन शाखाका सभापति हरिप्रसाद पौडेलले बताउनुभयो ।

    चितवनमा रगत अभाव हुन नदिन कास्की, नवलपरासी, मकवानपुर, बारा, पर्सा, रौतहट सर्लाहीलगायत जिल्लाबाट रगत ल्याउने गरिएको भए पनि ती जिल्लामा समेत रगतको अभाव भएको उहाँले बताउनुभयो ।

    रगत अभावका कारण नियमित शल्यक्रियामा समेत समस्या हुने गरेको छ ।