Blog

  • अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने

    सिड्नी, शुक्रबार, २३ कात्तिक २०८१ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता सामाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताउनुभएको छ ।

    प्राविधिक विज्ञहरूलाई उमेरको सीमा लागू गर्ने जिम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री अल्बानिजले नियमहरूको उलङ्घन गरेमा जरिवानाको सामना गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

    अस्ट्रेलिया सामाजिक सञ्जालको नकारात्मक प्रभाव नियन्त्रणको प्रयास गर्ने अग्रणी राष्ट्र हो । प्रधानमन्त्री अलबानिजले प्रस्तावित उमेर बालबालिकाका लागि सबैभन्दा महत्त्वपूर्ण र आमा –बाबासँग बिताउनु पर्ने उमेर भएको उहाँले प्रष्ट पार्नु भएको छ ।

    नोभेम्बरको अन्त्यमा संसदमा पेस हुनुअघि यो कानुनहरू यस हप्ता राज्य र क्षेत्रका नेतासमक्ष प्रस्तुत गरिनेछ । कानुन पारित भएपछि, कार्यान्वयनका लागि एक वर्षको अवधि दिइनेछ । यसको प्रभावकारी कार्यान्वयनका लागि आमाबाबु तथा युवाहरू जिम्मेवार हुनेछन् ।

    फेसबुक र इन्स्टाग्राम सञ्चालन गरेको मेटा कम्पनीले सरकारले पेस गर्न चाहेको जुनसुकै पनि उमेर सीमालाई सम्मान गर्ने जनाएको छ भने अस्ट्रेलियाले प्रतिबन्ध लागु गर्दा सावधानीपूर्वक सोच्नुपर्ने मेटाका सुरक्षा प्रमुख एन्टिगोन डेभिसले बताउनुभएको छ ।

    हेर्न नचाहेका अनावश्यक सामग्रीहरू सामाजिक सञ्जालमा प्रणालीमा देखा पर्ने भएकाले नियन्त्रण गर्नु परेको अल्बानिजले बताउनुभएको छ । यसैगरी, सञ्चार मन्त्री मिसेल रोल्यान्डले सामाजिक सञ्जाल सञ्चालन गरेका कम्पनीहरूमा बारम्बार जिम्मेवारीको ‘कमी’ देखिइरहेको बताउनुभएको छ ।

    रोल्यान्डले इन्स्टाग्राम, फेसबुक, टिकटक र एक्सजस्ता नेटवर्क तथा कम्पनीहरूले निर्धारित कानुनको उल्लङ्घन गरेमा आर्थिक दण्डको सामना गर्नुपर्ने बताउनुभएको छ ।

    फ्रान्सले यस अघि नै सन् २०२३ मा कानुन पारित गरी सामाजिक सञ्जाल प्रयोगकर्ताको उमेर कम्तीमा १५ वर्ष हुनुपर्ने व्यवस्था गरेको थियो । रासस/एएफपी

  • टोकियोमा हुन लागेको १४ औं नेपाल फेस्टिबल-२०२४ को तयारी तीव्र

    बिहिबार, २२ कात्तिक २०८१ । जापानको टोकियोमा हुन लागेको १४ औं नेपाल फेस्टिबल २०२४ को तयारीलाई तीव्र पारिएको छ ।

    फेस्टिबलका लागि आर्थिक संकलन अभियान, स्टल बुकिङ, स्वयम् सेवकका लागि आवेदन र विभिन्न वेशभूषा मौलिक कला संस्कृति र नेपाली संस्कृति अन्तर्गत रहेर प्रतिभा देखाउन इच्छुकहरूलाई सम्पर्क गर्नका लागि सार्वजनिक सूचना जारी गरिएको एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नविन निउरेले जानकारी दिए ।

    ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औं नेपाल फेस्टिबलमार्फत् नेपालमा पर्यटन प्रवर्द्धन भन्ने मूल मान्यताका साथ आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन टोकियोको नाकानो सिकिनोमोरी पार्कमा फेस्टिबल हुन लागेको हो

    गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापान, जापानका लागि नेपाली राजदूतावास टोकियो जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा फेस्टिबल हुन लागेको हो ।

    १४ औं नेपाल फेस्टिबल सञ्चालन हुने स्थलका लागि स्टल, स्टेज लगायत रहने स्थानको डिजाइनिङ अन्तिम रूपमा पुगेको जानकारी दिँदै फेस्टिबल मूल आयोजक समितिका उपसंयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष सुभास लामिछानेले विगतका वर्षमा भन्दा यस वर्ष स्टलको संख्या वृद्धि गरिएको र कार्यक्रम हुने स्थान समेत फराकिलो हुने बताए ।

    नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा डकुमेन्ट्री र फोटो प्रदर्शनको आवश्यक संयोजन गर्ने कार्य भइरहेको प्रवक्ता खगराज गौतम बताए ।

    १४ औं नेपाल फेस्टिबल-२०२४ का लागि स्टल बुकिङ खुला गरिएको छ ।

    नोभेम्बर १० तारिखसम्म स्टल बुकिङका लागि समय निर्धारण गरिएको स्टल व्यवस्थापन उप समितिका संयोजक तथा एनआरएनए जापानमा उपाध्यक्ष सचिन श्रेष्ठले जानकारी दिए ।

    स्टलहरूलाई व्यवस्थित, छरितो र व्यवसायीमैत्री बनाउन यस पटक रेष्टुरेन्ट अर्थात् फुड स्टल प्रयोजनका लागि 6m/ 3m का १२ वटा र अन्य व्यावसायिक सेवामूलक प्रयोजनका लागि 3m/3m का २५ वटा गरी कुल ३७ स्टल रहने भएको छ ।

    फेस्टिबल स्थलमा रहने स्टलहरूमा रेष्टुरेन्ट अर्थात् फुड स्टलका लागि तोकिएका स्टलहरूको प्रति स्टल ४० मान जापानी येन भाडा दर र ५ मान येन डिपोजिट गरी ४५ मान येन शुल्क तोकिएको छ भने अन्य व्यावसायिक सेवामूलक प्रयोजनका लागि छुट्याइएको प्रति स्टलको लागि १६ मान येन भाडा शुल्क निर्धारण गरिएको संयोजक श्रेष्ठले बताए ।

    कार्यक्रम सञ्चालन हुने स्थल र त्यस वरपर नेपाल फेस्टिबललाई व्यवस्थित बनाउन, आगन्तुक तथा दर्शकहरूको सहज आवतजावत र दृष्यावलोकन गर्न गराउन सहयोग पुर्याउन इच्छुक व्यक्ति तथा संघसंस्थालाई स्वयम् सेवकको रूपमा कार्य गर्न आवेदन खुला गरिएको स्वयम् सेवक परिचालन उप समितिका संयोजन तथा एनआरएनए जापान क्षेत्रीय समन्वय परिषद् कान्तोका संयोजक सागर कार्कीले जानकारी दिए ।

  • चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालन

    काठमाडौँ, बिहिबार, २२ कात्तिक २०८१ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेत स्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसी स्थित त्रिशूलीथ्रीबीहब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझ ७:५ बजेबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।

    यसैगरी, चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबारनै चार्ज गरिएको छ । उक्त सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिएका दुईवटा बैंक गरी ३२० एमभिए र १३२/३३ केभीतर्फ, ५० एमभिए क्षमताका पावर ट्रान्सफर्महरु रहेका छन् । आयोजना अन्तर्गतकै त्रिशूली थ्रीबीहब २२० केभीक्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा थियो ।

    त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ ।

    अनुमानित लागत ३ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू) को अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी) को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ ।

    नेपाल विद्युत प्राधिकरण उच्च भोल्टेज ग्रीड विभागका निर्देशक थर्कबहादुर थापाले प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेकाले त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् जुनसुकै वेला जोड्न सकिने बताए ।

    चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा तत्काल चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडिने छ ।

    रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । २८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन् । प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मीटरसम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो ।

    उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको थियो । आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरिएको छ । हेलिकोप्टरबाट समेत निर्माण सामाग्री ढुवानी गरी टावर निर्माण गरिएको थियो ।

    प्रसारण लाइनअन्तर्गत चिलिमे–मैलुङखण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्रीबीहबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ ।

    कोरियन कम्पनीहरुको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ ।

    प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।

  • सिप्रदी ट्रेडिङ्गद्वारा १० वटा बस हस्तान्तरण

    काठमाडौँ, बिहिबार, २२ कात्तिक २०८१ । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले पत्थर डाँडा, रुपन्देहीमा, आज एक कार्यक्रमका बीच १० वटा अत्याधुनिक र सुविधासम्पन्न TATA LPO1622/62 BS6 Magna बसहरु त्रिशक्ति पशुपति दर्शन यातायात प्रा.लि लाई हस्तान्तरण गरेको छ। त्रिशक्ति पशुपति दर्शन यातायात प्रा.लि. पश्चिम नेपाल बस ब्यबसायी प्रा. लि. र भेरी यातायात प्रा.लि जस्ता दुई ठूला समितिको सहकार्यमा संचालनमा आएको हो ।

    कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसी सहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेश देखि दिल्ली सम्मको अन्तरदेशीय यात्राको लागि संचालनमा आउने छ। कार्यक्रममा समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरु अझै बढाउने सोच रहेको जनाएका छन् ।

    TATA LPO1622/62 BS6 Magna बसमा अत्याधुनिक प्रविधि र BS6 मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ। विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ, र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ। BS6 गाडीमा OBD प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ। SCR प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ ।

    “अत्याधुनिक BS6 इन्जिन, लक्जरी युक्त सिट र लामो दुरीका लागि विशेष रुपमा तयार पारिएका यी MAGNA गाडीहरुले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास हामीले लिएका छौं। साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देश बीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ।“ कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले बताए ।

    यस अन्तरदेशीय यातायातको थालनीले सबैमा नयाँ हर्ष र आशा जागेको कार्यक्रममा उपस्थित विभिन्न व्यावसायीको तर्क रहेको थियो ।

  • ‘बेचबिखनबाट प्रभावितको सशक्तीकरण–राष्ट्रिय कार्यशाला एवं सशक्त आवाज लोकार्पण’

    काठमाडौँ, बिहिबार, २२ कात्तिक २०८१ । मानव बेचबिखनबाट प्रभावित भएका महिलाले पुनः समाजमा स्थापित हुन गरेका सङ्घर्षबारे लेखिएको पुस्तक ‘सशक्त आवाज’ लोकार्पण भएको छ ।

    सुनिता फाउन्डेसनद्वारा बुधबार राजधानीमा आयोजित ‘बेचबिखनबाट प्रभावितको सशक्तीकरण–राष्ट्रिय कार्यशाला एवं सशक्त आवाज लोकार्पण’ कार्यक्रममा फाउन्डेसनले प्रकाशन गरेको ‘सशक्त आवाज’ पुस्तकको लोकार्पण गरिएको हो ।

    मानव बेचबिखनबाट प्रभावित महिलालाई समाजमा पुनर्मिलन हुन सहयोग गर्ने लक्ष्यले सन् २०१९ मा स्थापना भएको फाउन्डेसनले प्रभावितका लागि आवश्यक मनोपरामर्श, आर्थिक, कानुनी समस्याको समाधानका लागि सहयोग गर्दै आएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले मानव बेचबिखनबाट प्रभावित महिलालाई घर, परिवार र समाजले हेर्ने दृष्टिमा परिवर्तन ल्याउँदै सिप, आर्थिक सशक्तीकरणका लागि बिउपुँजी रकम दिएर उहाँहरूको सफल कथालाई पुस्तकमा समेटेर उदाहरणीय काम गरेको बताउनुभयो ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव एवं मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाका प्रमुख मीना पौडेलले फाउन्डेसनको उदाहरणीय कामबाट धेरैले नयाँ जीवन पाएको र राज्यले पनि प्रभावितका लागि विविध योजना र कार्यक्रम अन्तर्गत काम गरिरहेको बताउनुभयो । सशक्त आवाजका सम्पादक टङ्क पन्तले यस पुस्तकमा समेटिएका प्रभावितका आवाजले मानव बेचबिखनमा पर्नबाट जोगिन र परिहालेमा पनि सिप सिकेर, व्यवसाय गरेर आत्मनिर्भर जीवन बाँच्नका लागि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

    फाउन्डेसनका संस्थापक अध्यक्ष एवं प्रबन्ध निर्देशक सुनिता दनुवार र फाउन्डेसनका अध्यक्ष तारादेवी खनालले फाउन्डेसनको लक्ष्य सफल बनाउनेको कथाले अन्यलाई पनि पे्ररित गर्ने बताउनुभयो ।

  • ग्लोबल आइएमईका ग्राहकलाई यती एयरलाइन्सको टिकटमा क्यासब्याक अफर

    काठमाडौँ, बुधबार, २१ कात्तिक २०८१ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले यती एयरलाइन्सको टिकट किन्दा निश्चित रकम क्यासब्याक पाउने भएका छन् ।

    सो क्यासब्याक अफर योजनाअनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा पाँच सय रूपैयाँ क्यासब्याक पाउने भएका छन् ।

    बैंकका ग्राहक तथा ग्राहकका परिवार सदस्यहरूले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा वा काट्दा ‘फ्लाइयती’ प्रोमो कोड प्रयोग गरी पाँच सय रूपैयाँ क्यासब्याक पाउने भएका हुन् ।

    ग्राहकले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन्। क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहनेछ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याउने गरेको छ ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सबै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँएको छ ।

    बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने गरेको छ ।

  • बिपी बर्न अस्पताल पुनः सञ्चालन हुँदै

    इनरुवा (सुनसरी), बुधबार, २१ कात्तिक २०८१ । सुनसरी धरान उपमहानगरपालिकास्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘बर्न अस्पताल’ सञ्चालनको तयारी गरिएको छ । सञ्चालन भएर बन्द भएको अस्पताललाई पुनः सञ्चालन गर्ने तयारी भएको बिपीका सहप्रवक्ता डा अभिजित कुमारले जानकारी दिनुभयो ।

    जलेका बिरामीलाई उपचारका लागि छुट्टै सेन्टर सञ्चालनको तयारी अन्तिम चरणमा पुर्‍याएको उहाँले जानकारी दिनुभयो । आगलागी वा अन्य कुनै दुर्घटनामा जलेका बिरामीलाई सहज होस् तथा उपचार अभावका कारणले अकालमा ज्यान गुमाउन नपरोस् उद्देश्यले अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

    जलेका बिरामीको उपचारका लागि छुट्टै भवन निर्माण गरेर ३० शय्याको बर्न सेन्टर सञ्चालनमा ल्याउन लागेको उहाँले बताउनुभयो । बर्न सेन्टरका लागि आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको र भौतिक पूर्वाधारको कामसमेत अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । सबै तयारी अन्तिम चरणमा पुगेकाले अबको एक महिनाभित्रमा सेन्टर सञ्चालनमा आउने प्रतिष्ठानका सहप्रवक्ता डा अभिजित कुमारले बताउनुभयो ।

    तत्काल ३० वटा शय्या भएको बर्न अस्पताल सञ्चालन गर्ने तयारी भएको र अहिले २० वटा जेनरल शय्या तयारी भइसकेको र बाकी १० वटा शय्यामा आइसियु र गम्भीर किसिमका बर्नका बिरामीको उपचारका लागि व्यवस्थापन गर्ने तयारी भएको बिपीका प्रवक्ता अभिजितले जानकारी दिनुभयो । अस्पतालमा लिफ्टको काम गर्न बाँकी रहेकाले काम समापन भएसँगै बर्न अपस्पताल सञ्चालन गर्ने उहाँले बताउनुभयो । अस्पतालमा लिफ्टका लागि ‘टेन्डर’ आह्वान गरिसकेको छ । बर्नका बिरामी ‘सिजनल’ आउने गरेकाले बिपीमा ३० वटा शय्याले पुग्ने उहाँले बताउनुभयो ।

    धरानमा बर्न सेन्टर सञ्चालनमा आएपछि जलेका बिरामीलाई उपचारका लागि सङ्घीय राजधानी धाउनुपर्ने बाध्यता अन्त हुने उहाँको भनाइ छ । यहाँ सुनसरीसहित कोशी प्रदेश र मधेश प्रदेशका जनकपुरसम्मका बिरामीले सेवा लिने प्रतिष्ठानका सहप्रवक्ता डा अभिजित कुमारले जानकारी दिनुभयो ।

  • अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै

    काठमाडौँ, बुधबार, २१ कात्तिक २०८१ । अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको थियो भने आव २०७८/०७९मा ७२ मेट उत्पादन गरी रु नौ करोड ६० लाखको निर्यात गरिएको थियो । बोर्डले आव २०८०/०८१ को विस्तृत तथ्याङ्क सङ्कलन कार्य भइरहेको जनाएको छ ।

    आव २०७८/०७९मा देशभर ४५० मेट कफीको आयात गरी रु ३२ करोड खर्च गरिएकामा आव २०७९/०८० मा रु १० करोडको मात्र आयात गरिएको थियो । यो करिब रु २२ करोडले आयात न्यूनीकरण भएको बोर्डका निर्देशक दिपक खनालले जानकारी दिनुभयो । उहाँले कफीका लागि उपयुक्त हावापानी र क्षेत्र विस्तारले उत्पादनमा पनि वृद्धि भएको बताउनुभयो ।हाल देशभर तीन हजार छ सय ५९ हेक्टर क्षेत्रफल जमिनमा कफी विस्तार गरी करिब तीन सय ९५ मेट्रिकटन ‘ग्रिनविन’ उत्पादन गरिएको छ ।

    यस क्षेत्रमा कार्यरत कृषकको सङ्ख्या हाल ३३ हजार छ भने नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा माग करिब १४ हजार मेट्रिकटन रहेको बोर्डले जनाइएको छ । नेपालमा गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङलगायत ४३ जिल्लामा यसको व्यावसायिक खेती हुँदै आएको जनाइएको छ । यस्तै आव २०७८/०७९मा देशभर चियाको निर्यात रु तीन अर्ब ८० करोड रहेकामा आव २०७९/०८० मा करिब रु १४ करोडले वृद्धि भएको छ । चिया उद्योगको सङ्ख्या एक सय ६१ पुगेको छ । यस क्षेत्रमा करिब ६० हजार श्रमिक कार्यरत रहेको बोर्डका अधिकृत चन्द्र पुरीले जानकारी दिनुभयो ।

  • पोखरामा ‘क्रस कन्ट्री दौड’सहितका विविध कार्यक्रम

    गण्डकी, बुधबार, २१ कात्तिक २०८१ । हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते पर्यटन राजधानी पोखरामा तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने भएको छ ।

    नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडका विभिन्न चार विधामा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड, पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुनेछ । समूह विजेताले रु चार लाख ५८ हजार, उपविजेताले रु तीन लाख ४३ हजार, व्यक्तिगत विजेता महिला र पुरुषले समान रु एक लाख ५२ हजार पाउनेछन् ।

    विद्यार्थीतर्फको प्रतिष्पर्धाका विजेताले रु ३० हजार पाउँने छ । पचास किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट आएर सम्पन्न हुनेछ ।

    प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडी विमान चार्टर गरेर पोखरा आउने प्रतियोगिताका संयोजक विश्वशङ्कर पालिखेले जानकारी दिनुुभयो । प्रतियोगिताले नेपाल र चीनबीचको युुगौँदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउनुुका साथै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

    साहसिक खेलकुदको सहरका रूपमा परिचित पोखरामा यो प्रतियोगिताका साथै इन्ड्युरो साइकल रेस, ड्रागन बोट रेस, ट्रयोथलन, प्याराग्लाइडिङलगायत अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । पोखरामा प्याराग्लाइडिङमा जिपलाइन, बञ्जी, अल्ट्रालाइटजस्ता साहसिक पर्यटनका निम्ति पनि चिनियाँ पर्यटक आउने गरेका छन् ।

    नेपालमा आउने चिनियाँ पर्यटकमध्ये ४० प्रतिशतले पोखरामा भ्रमण गर्ने होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो । चीनबाट धेरै पर्यटक भित्र्याउन सकिने पोखरा पर्यटन परिषद्का उहाँले बताउनुुभयो । व्यापारिक प्रयोजनका लागि पनि चिनियाँ पोखरा आउने गरेका छन् ।

    क्रस कन्ट्री प्रतियोगिताले पोखरासहित समग्र मुलुकका पर्यटकीय क्षेत्रको चीनमा प्रवर्द्धन हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउनुहुन्छ ।

    क्रसकन्ट्री रेसका लागि चीनबाट सिछुवान विमान सेवाको विमान चार्टर गरेर एक सय ४० जना खेलाडी पोखरा विमानस्थलमा अवतरण गर्ने जानकारी दिँदै अध्यक्ष सुवेदीले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण पूरा भई सञ्चालन भए पनि हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा विदेशबाट विमान चार्टर गरेर सोझै पोखरामा अवतरण हुनु सकारात्मक भएको बताउनुभयो ।

    प्रतियोगिता नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद्, पोखरा महानगरपालिका र काठमाडौँस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा हुनलागेको हो । प्रतियोगिताका क्रममा भोलिदेखि तीन दिनसम्म ‘पोखरा–कुन्मिङ इन्टरनेशनल फ्रेण्डसीप सिटिज लिग’ हुनेछ । पोखरा पर्वतीय सङ्ग्रहालयमा युनानका पर्वतीय वस्तु तथा स्रोतसम्बन्धी प्रदर्शनी पनि हुनेछ । त्यस क्रममा खेलकुद परिषद्लाई युनान खेलकुद ब्यूरोले खेल सामग्री तथा उपकरण प्रदान गर्ने कार्यक्रम छ ।

  • टिकटक नेपालमा सूचीकृत

    टिकटक नेपालमा सूचीकृतकाठमाडौँ, बुधबार, २१ कात्तिक २०८१ । सामाजिक सञ्जाल टिकटक नेपालमा पहिलो पटक आधिकारिक रूपमा सूचीकृत भएको छ ।

    तिहारअघि नै प्रक्रिया पूरा भइसकेको भए पनि मङ्गलबार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको प्रमाणपत्र लिएको हो ।

    मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भन्नुभयो, ‘‘टिकटक औपचारिकरूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत भएको छ । टिकटकले करदाता नम्बर र प्यान नम्बर पनि लिएको छ ।’’

    नेपालमा सूचीकृत भएसँगै साइबर अपराधको अनुसन्धानमा उक्त कम्पनीले सघाउने प्रतिबद्धता जनाएको छ । यति मात्रै नभएर नेपालको कानुन तथा सर्त मान्न तयार भएको, पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ ।

    सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि २०८१ भदौ ६ मा मन्त्रिपरिषद् बैठकले सर्तसहित टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो । त्यसपछि सरकार र टिकटकबिच वार्ता भएर २०८१ भदौ १९ देखि प्रतिबन्ध हटेको थियो ।